• १२ कात्तिक २०८१, सोमबार

मलेसिया र कोरियासँग श्रम सम्झौता नवीकरणको तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक १२ गते । सरकारले दक्षिण कोरिया (इपिएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार दुवै देशलाई श्रम सम्झौता नवीकरणका लागि आवश्यक मसौदासहित पत्राचार गरिएको छ । 

श्रम मन्त्रालयले मलेसियासँगको श्रम सम्झौता नवीकरणका लागि परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्र पठाइसकेको तर मलेसियाबाट जवाफ आउन बाँकी रहेको जनाएको छ । दक्षिण कोरिया इपिएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखाले छलफल गरिरहेको मन्त्रालयले जानकारी गराएको छ । कोरिया र मलेसियासँगको श्रम सम्झौता बढी दुई महिनामा हुने मन्त्रालयले जानकारी दिएको छ । 

मलेसियासँग सन् २०१८ मा र कोरियासँग सन् २०१८ मा श्रम सम्झौता नवीकरण भएको थियो । मलेसियासँग चार वर्ष र कोरियासँग दुई वर्षको अवधिमा श्रम सम्झौता नवीकरण हुने प्रावधान छ । कोरियासँगको सम्झौताको म्याद सन् २०२० मा समाप्त भएको थियो भने मलेसियासँगको सम्झौता सन् २०२२ मा सकिएको थियो । 

हालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको तीन महिनामा दक्षिण कोरियामा तीन हजारभन्दा बढी नेपाली श्रमिक इपिएसमार्फत गइसकेका छन् । मलेसियामा भने यो अवधिमा मात्र ५० जना श्रमिक गएका छन् । मलेसियाको रोजगारी गत माघदेखि बन्द छ ।