• १२ कात्तिक २०८१, सोमबार

साफ महिला च्याम्पियनशिप

भारतलाई ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश

blog

नेपाली खेलाडी

काठमाडौं, कात्तिक ११ गते । नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रङ्गशालामा आइतबार राति भएको तनावपूर्ण सेमिफाइनल खेलमा भारतलाई टाइब्रेकरमा ४–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको हो । 

टाइब्रेकरमा नेपालका लागि सावित्रा भण्डारी (साम्बा), गिता राना, सविता रानामगर र अमिशा कार्कीले गोल गर्नुभयो । भारतकी मनिषा र पुरुषोत्तम शिरोभ्करले गोल गर्नुभयो । कप्तान आशालता देवीको पहिलो प्रहार पोलमा लागेर फर्किएको थियो । रन्जना चानुको प्रहारलाई भने नेपालकी गोलरक्षक अन्जना रानामगरले विफल पार्नुभयो । 

यसअघि निर्धारित समयको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । ५१ औँ मिनेटमा नेपाल १० खेलाडीमा समेटिएको थियो ।

नेपालकी प्रभावशाली स्ट्राइकर रेखा पौडेलले रन्जना चानुमाथि फल गरेपछि भुटानी रेफ्री चोकी ओमले रेखालाई दोहोरो पहेँलो (रातो) कार्ड देखाउनुभयो । त्यसपछि रेफ्रीको निर्णय प्रति असन्तुष्ट बनेका नेपाली समर्थकले नाराबाजी गर्दै मैदानमा बोतल फालेका थिए । जसको कारण खेल १३ मिनेट रोकिएर पुनः सुचारु भयो ।

लगत्यै भारतकी संगीता बासफोरले डिबक्स छेउबाट उत्कृष्ट गोल गर्नुभयो । भारतका खेलाडी र अफिसियल संगीताको गोलमा खुसी मनाउन लाख्दा रेफ्रीले खेल सुचारु गर्नुभयो । जसमा नेपालकी प्रिति राईले गोल गर्नुभयो ।

प्रितिले खाली पोस्टमा गरेको गोललाई विपक्षी खेलाडी हाफ मैदानमा नरहेको भन्दै रेफ्री चोकीले फोर्थ अफिसियल र सहायक रेफ्रीको निर्देशनमा गोल नदिएपछि रङ्गशाला पुनः तनावपूर्ण बनेको थियो । नेपाली खेलाडी गोल नदिएका कारण खेल्न मानेनन् । अफिसियलले पनि तत्काल खेलाउन सकेनन् । 

रेफ्रीको गलत निर्णयपछि १५ हजार दर्शकले रेफ्रीविरुद्ध नाराबाजी गरिरहेका थिए । दर्शकको आक्रोस नियन्त्रण गर्न सुरक्षा कर्मीलाई समेत हम्मेहम्मे परेको थियो ।

करिव एक घण्टा तनावपछि खेल पुन: सञ्चालन भएको थियो । खेल सञ्चालन भएको पहिलो मिनेटमै सावित्राले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो ।

त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा नेपाल भाग्यमानी बन्यो । फाइनलमा नेपालले बुधबार साविक विजेता बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आइतबार नै भएको पहिलो सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो । अघिल्लो संस्करणको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै उपाधि जितेको थियो । 


जितपछि खुसी मनाउँदै नेपाली खेलाडी । तस्बिर ः  विकास द्वारे

यो पनि पढ्नुहोस

साफ महिला च्याम्पियनसिप पुनः सुरु

नेपालको गोललाई मान्यता नदिएपछि रंगशालामा होहल्ला