• १२ कात्तिक २०८१, सोमबार

विश्वकप लिग–२ : अमेरिकासँग प्रतिस्पर्धा गर्दै नेपाल

blog

नेपाली क्रिकेट टिम । फाइल तस्बिर क्यान

काठमाडौँ, कात्तिक ११ गते। विश्वकप लिग–२ मा नेपालले पहिलो खेल आज राति घरेलु टोली अमेरिकासँग खेल्दैछ। उक्त खेल राति ९ः१५ बजे सुरु हुनेछ।  

नेपालले दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। 

नेपालले अमेरिका र स्कटल्यान्डसँग दुई दुई खेल खेल्न लागेको हो।

आइसिसी विश्वकप लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन्। 


नेपाल आइसिसी विश्वकप लिग–२ को अङ्कतालिकामा सातौँ स्थानमा छ। नेपालले हालसम्म खेलेका आठ खेलमा एउटामा जित तथा ६ मा हारका साथ तीन अङ्क जोडेको छ। एउटा खेल वर्षाका कारण हुनसकेको थिएन। 

यस्तै अमेरिका हालसम्म खेलेका नौ खेलमध्ये ६ मा जित र तीनमा हारका साथ १२ अङ्क जोडेदै दोस्रो स्थानमा छ। स्कटल्याण्डले भने हालसम्म आठ खेल खेलेको छ। स्कटल्याण्ड पाँच खेलमा जित तथा दुईमा हार बेहोर्दै अङ्कतालिकामा चौथो स्थानमा रहेको छ। 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ। टोलीमा अनिल साह, कुशल भुर्तेल, आसिफ सेख, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा र रिजन ढकाल  छन्। 


देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ ।