• १२ कात्तिक २०८१, सोमबार

घरपालुवा कुकुरको बन्ध्याकरण

blog

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयमा कुकुरको उपचार गरिदै । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक १० गते । जिल्लामा सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्न थालिएको छ । एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्युठानले अभियानमार्फत कुकुरको बन्ध्याकरण गर्न थालेको हो । 

“अवरोध हटाऔँ, रेबिज उन्मुलन गरौँ” मूल नारासाथ कात्तिक ९ गते देखि १५ गतेसम्म सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नेगरी अभियान सञ्चालन गरेको कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

सामुदायिक कुकुरको सङ्ख्यामा कमी ल्याउन र रेबिज रोगको नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण कार्यक्रम सञ्चालन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो । सामुदायिक तथा घरपालुवा कुकुरका कारण समस्या बढेपछि जिल्लामा बन्ध्याकरण गर्न थालिएको श्रेष्ठको भनाइ छ ।

कार्यालयमा विभिन्न ठाउँबाट ल्याइएका कुकुरको बन्ध्याकरण गरिरहेको कार्यालयका पशु विकास अधिकृत डाक्टर गणेश पुनले जानकारी दिनुभयो । जिल्लाका विभिन्न ठाउँबाट सामुदायिक तथा घरपालुवा कुकुर ल्याएर कार्यालयमै बन्ध्याकरण गर्ने उहाँले बताउनुभयो । बन्ध्याकरण, उपचारसँगै कुकुरलाई रेबिजविरुद्ध खोप पनि लगाइने डा. पुनले बताउनुभयो । 

कार्यालयले यसअघि जेठ २० र २१ गते पशु सेवा शाखा बिजुवारमा प्युठान नगरपालिकाको समन्वय र पायोनिएर एनिमल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. बुटवलको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरेर ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको थियो । जसले जिल्लामा सामुदायिक कुकुरको व्यवस्थापनमा सहयोग पुगेको कार्यालयले जनाएको छ ।