• १२ कात्तिक २०८१, सोमबार

काठमाडौँमा माओवादी केन्द्रको खबरदारी जुलुस

blog

नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी जुलुस । तस्बिर : अध्यक्ष प्रचण्डको सचिवालय

काठमाडौँ, कात्तिक १० गते । नेकपा (माओवादी केन्द्र) ले शनिबार काठमाडौँमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाइमा जुलुस सुरु भएको सो दलले जनाएको छ ।

सुनधाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजार हुँदै प्रदर्शनी मार्गमा पुगेर खबरदारी सभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

माओवादी केन्द्रले १० बुँदे एजेन्डासहित आज प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण पुनर्स्थापनाको कार्यान्वयन गराउन खबरदारी सभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।

राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ । नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरू र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारी सभाको एजेन्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।

त्यस्तै, बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी, मिटरब्याज र लघुवित्तपीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारबाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवम् प्रवर्द्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेन्डाको रूपमा अघि सारेको छ ।