• ११ मंसिर २०८१, मङ्गलबार

सीमासँग जोडिएका स्थानीय जनप्रतिनिधिसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम

blog

सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम । तस्बिर : सशस्त्र प्रहरी

काठमाडौँ, कात्तिक १० गते । सशस्त्र प्रहरी बल नेपालले सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । उक्त कार्यक्रम प्रस्तावित सीमा सुरक्षा गुल्म बाँकेको आईसीपी हलमा कात्तिक ९ गते सम्पन्न भएको हो ।

नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनाको प्रमुख आतिथ्यमा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा नं. ३० गण बाँके र नं. ३१ गण बर्दियाका गणपति, सीमासँग जोडिएका बाँके र बर्दियाका स्थानीय जनप्रतिनिधि तथा वडा अध्यक्षहरू लगायत प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति र बिओपी प्रमुखहरूको समेत सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले कार्यक्रममा सीमामा हुने अवैध चोरीपैठारी निकासी तथा राजस्व चुहावट नियन्त्रण, चाडपर्वको समयमा हुने चोरी, डकैती, हत्या, अपहरण, लुटपाट लगायतका क्रियाकलापहरूलाई नियन्त्रण र सीमामा आवागमन गर्ने नागरिककहरुको सुरक्षा र सहजताको विषयमा समेत छलफल भएको जानकारी दिनुभयो ।

सोही अवसरमा वरिष्ठ उपरीक्षक तिउसीनाले सीमामा हुने अवैध गतिविधिहरू नियन्त्रणका लागि सीमा सहजीकरण तथा निगरानी समिति गठन, सीमा नाकाहरूमा तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको र भविष्यमा अन्य आधुनिक प्रविधिको विस्तार गर्दै लगिने समेत  बताउनुभयो ।

उहाँले सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने कार्यमा सरोकारवाला निकाय, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाहरूको समेत सहयोग, समन्वय र सहकार्यले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले स्थानीय सीमावासीसँगको यस प्रकारका कार्यक्रम उपलब्धिमूलक हुने बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले सीमामा सशस्त्र प्रहरीको उपस्थितिका कारण शान्ति सुरक्षाको प्रत्याभूति भएको, सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमले सिमाक्षेत्रका विभिन्न समस्या समाधानमा थप सहकार्य र समन्वयको वातावरण बनेको भन्दै खुसी व्यक्त गरेका थिए । सीमामा हुने  असुरक्षाको स्थिति नरहेको भन्दै उनीहरूले सशस्त्र प्रहरीसँगको सहकार्य र समन्वय निरन्तर रहने बताए ।

सशस्त्र प्रहरी बल नेपालले ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ ल्याएपश्चात् सीमामा २४सै घण्टा नियमित पैदल गस्ती, स्वास्थ्य शिविर सञ्चालन, सिमानामा रहेका स्थानीयवासी लक्षित क्षमता अभिवृद्धि तालिम, सीमा अपराध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम, सीमा क्षेत्रमा सरसफाइ लगायत लैङ्गिक हिंसा, बाल विवाह, लागुऔषध सम्बन्धमा सचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ ।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालको कल्याणकारी योजनाअन्तर्गत अन्तर्राष्ट्रिय सिमाना जोडिएका जिल्लाहरूमा बसोबास गर्ने आदिवासी जनजाति, दलित समुदाय, अल्पसङ्ख्यक, अतिविपन्न, पिछडिएका वर्ग र सीमान्तकृत समुदायका तथा जेहेन्दार छात्रछात्राहरूलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म निःशुल्क अध्ययनको व्यवस्था समेत गरिएको छ ।