• १२ कात्तिक २०८१, सोमबार

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै

blog

वन मन्त्रालयका सचिव दीपककुमार खराल

काठमाडौँ, कात्तिक १० गते । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्त्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालय हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रूपमा नामाङ्कन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ ।’’

उहाँले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेको पनि उल्लेख गर्नुभयो ।

‘‘जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रूपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भूगोलको कारणले धेरै समस्या र चुनौतीहरू महसुस गरिरहेका छौँ ।,’’ सचिव खरालले भन्नुभयो, ‘‘जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय शृङ्खलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठुलो क्षति व्यहोरिरहेको बताउनुभयो । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको जानकारी उहाँले दिनुभयो ।

शनिबार काठमाडौँमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।