• १२ कात्तिक २०८१, सोमबार

अमेरिकी चुनाव र विश्वशान्तिको कामना

blog

अमेरिकामा स्थानीय (मेयर, सिटी काउन्सिल, स्कुल बोर्ड) र फेडरल (राष्ट्रपति–उपराष्ट्रपति, कङ्ग्रेस– हाउस अफ रिप्रेजेन्टेटिभ र सिनेट) तथा स्टेट, प्राइमरी चुनाव हुन्छन् । स्टेट इलेक्सन राज्यपिच्छे फरक समयमा हुन्छ । लोकल इलेक्सन पनि विभिन्न तालिकामा हुन्छ भने आमनिर्वाचनको सात महिनाअघि नै पार्टीले चुन्ने चुनाव प्राइमरी इलेक्सन हुन्छन् । 

स्वयम् अमेरिका तथा विश्वलाई नै चासो रहेको चुनाव भनेको फेडरल चुनाव त्यसमा पनि राष्ट्रपति र उपराष्ट्रपतिको हो, जुन चार चार वर्षमा हुन्छ । चार वर्षीय समयावधि रहने राष्ट्रपति बढीमा दुई कार्यकालसम्म मात्र हुन पाइन्छ । अमेरिकी संसद् कंग्रेसको निर्वाचन भने तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ प्रत्येक दुई दुई वर्षमा र माथिल्लो सदन सिनेटको प्रत्येक छ छ वर्षमा हुन्छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एकै पटक हुने हो, जो राष्ट्रपति निर्वाचित हुन्छन्, उनैले छानेको (चुनावअघि नै) उपराष्ट्रपति सोही दलका स्वतः निर्वाचित हुन्छन् । 

राष्ट्रपति निर्वाचन खासमा इलेक्टोरल कलेजबाट हुन्छ । ५० राज्यमध्ये जनसङ्ख्या अनुसार विभिन्न राज्यमा विभिन्न सङ्ख्यामा निर्वाचित हुन्छन् । सबभन्दा बढी क्यालिफोर्नियाबाट ५४, टेक्सास ४०, फ्लोरिडा ३०, न्युयोर्क २८ आदि । जुन राज्यमा लोकप्रिय मतले जसले जित्छन्, त्यस राज्यका इलेक्टोरल कलेज सबै उनैका पक्षमा पर्छ । कुल राज्यमध्ये सबभन्दा बढी लोकप्रिय मत पाउनेबित्तिकै उसको जीत भन्ने हुँदैन । किनभने लोकप्रिय मत जिते पनि उसको इलेक्टोरल कलेज कम हुन सक्छ । राज्यपिच्छे फरक फरक इलेक्टोरल कलेज भएकाले कम कम सङ्ख्यामा रहेका इलेक्टोरल कलेज भएका राज्यको जित भएमा इलेक्टोरल कलेज पनि कमै हुन्छ । जस्तो कि १९ इलेक्टोरल कलेज भएको इलिनोइसमा थोरै मात्र लोकप्रिय मतका फरकमा जित्नेले १९ इलेक्टोरल कलेज पाउँछ भने तीन इलेक्टोरल कलेज भएको वोमिङमा सबभन्दा धेरै लोकप्रिय मतका फरकमा जिते पनि उसले पाउने त तीन इलेक्टोरल कलेज मात्र हो । त्यसैले धेरै सङ्ख्यामा इलेक्टोरल कलेज रहेका राज्यमा थोरै मात्र अर्थात् लोकप्रिय मतले जिते पनि उसले धेरैकै सङ्ख्यामा इलेक्टोरल कलेज पाउँछ । त्यसैले उम्मेदवारको ध्यान पनि धेरै इलेक्टोरल कलेज भएका राज्यमा नै हुन्छ । सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनले बढी लोकप्रिय मत पाए पनि इलेक्टोरल कलेज कम हुँदा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पसँग पराजित हुनाको कारण हो । 

राष्ट्रपतिले नै कार्यकारीको नेतृत्व गर्ने अमेरिकामा कानुन बनाउने व्यवस्थापिका तथा सर्वोच्च अदालत र तल्ला फेडरल अदालत हुन्छन् । राष्ट्रपतिसँग आन्तरिक मामिला तथा वैदेशिक नीति र सैनिक निर्णय गर्ने अधिकार हुन्छ । राष्ट्रपति नै राष्ट्राध्यक्ष र सरकारका प्रमुख एवं सेनाको कमान्डर इन चिफ हुन्छन् । सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति, अपराधमा क्षमा दिने अधिकार पनि उनमा हुन्छ । राज्यका तिनै अङ्गबिच नियन्त्रण र सन्तुलन पनि कायमै हुन्छ । 

अमेरिकाको हरेक राष्ट्रपति निर्वाचन धेरै कारणले रुचिपूर्ण हुन्छ । राष्ट्रपतिले लिने निर्णयहरूले अन्तर्राष्ट्रिय सम्बन्ध, अर्थतन्त्र र विश्वव्यापी नीतिमा महत्वपूर्ण प्रभाव पर्छ । निर्वाचनमा खास गरी दुई दलका उम्मेदवारको नै बढी चर्चा हुन्छ । तिनले पनि विभिन्न पृष्ठभूमि, विचार र कार्यसूची बोकेका हुन्छन्, जसले मुलुकको विविधताको प्रतिविम्बन गर्छ । यसमा मतदाता पनि व्यस्त हुन्छन् । उम्मेदवारबिच हुने बहसले चुनाव अझ तताउँछ । सायद अमेरिकी चुनावमा विश्वकै सबभन्दा बढी मिडिया कभरेज हुन्छ होला । यस अवधिमा सर्वेक्षण, विश्लेषण पनि निकै हुन्छ, जसले मतदाताको दृष्टिकोण र मुख्य विषय वा एजेन्डाहरूमा निकै प्रकाश पारिन्छ । अमेरिकी इतिहासमा प्रत्येक राष्ट्रपति निर्वाचन कोसेढुङ्गा हुन्छ । नागरिक अधिकार, परराष्ट्र नीति र घरेलु विषयलाई नै प्रभाव पार्छ । त्यसैले चुनावमा आन्तरिक र विश्वस्तरमै राजनीतिक रुचि राखिन्छ । चुनावमा ससाना दलका र स्वतन्त्र उम्मेदवार, कहिलेकाहीँ अर्बपतिहरू पनि हुन्छन् र तिनको चर्चा कमै हुन्छ । 

अमेरिका धेरै क्षेत्रमा विश्वकै अगुवा हो । यसका स्रोतसाधन, नवप्रवर्तनीय क्षमता र सुदृढ संस्थाहरूले योगदान गरेका छन् । यहाँ विश्वका अगुवा केही कम्पनीले युक्त सिलिकन भ्याली छ, जसमा गुगल, एप्पल, फेसबुक आदि प्रविधिसम्बन्धी कम्पनी छन् । अमेरिका कृत्रिम बौद्धिकता, क्वान्टम कम्प्युन्टिङ, जैविकप्रविधि र साइबर सेक्युरिटी जस्ता नवप्रवर्तनमा पनि विश्वमै अगुवा छ । सबभन्दा धेरै रक्षा बजेट तथा शक्तिशाली एवं अत्याधुनिक सेनाका साथ अमेरिका एरोस्पेस, मिसाइल र साइबरवारफेरमा पनि अग्रणी छ । उच्च शिक्षा र अनुसन्धान, अन्तरिक्ष खोज, मनोरञ्जन र मिडियामा पनि अगाडि रहेको एक नम्बरको विश्वमहाशक्ति अमेरिका वित्त र अर्थतन्त्र, स्वास्थ्योपचार र औषधी विकास, कृषि र खाद्य उत्पादन, खेलकुद, उद्यममा अगाडि नै छ । यसले कूटनीति र विश्वव्यापी शासन सबैमा प्रभाव पारेको छ । 

जसरी अमेरिका शान्ति, सुरक्षा, प्राज्ञिक खोज, अनुसन्धानमा अगाडि छ, युद्धमा पनि त्यत्तिकै संलग्न छ । दुई विश्वयुद्धअघि नै करिब एक दर्जन आन्तरिक र बाह्य युद्ध लडेको अमेरिका दोस्रो विश्वयुद्धपछि कोरिया, भियतनाम, खाडी, अफगानिस्तान, इराक युद्ध हुँदै अहिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सिरिया, यमन, सोमालियामा अलकायदा, आइएसआइएस तथा युक्रेन र हमास युद्धमा पनि संलग्न छ । शीतयुद्धताका ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियामा केही हस्तक्षेप र तनावमा अप्रत्यक्ष सहयोगी पनि रह्यो । अहिले एसियाबाट उदाइरहेको चीनसँग उसको कूटनीतिक, सैनिक, आर्थिक, प्राविधिक क्षेत्रमा प्रतिस्पर्धा र सङ्घर्ष चलिरहेको छ । हमास, हिजबुल्लाह, हुथी विद्रोहीका साथै रुस, इरान, उत्तर कोरियाका गतिविधि पनि उसका लागि टाउको दुखाइको विषय बनेको छ । 

आन्तरिक रूपमा आप्रवासन नीति, सीमा सुरक्षा र आप्रवासीका व्यवहार जस्ता तनावबाट अमेरिका गुज्रिरहेको छ । कतै सहर र गाउँको खाडल, बन्दुकबाट हुने हिंसा, मताधिकारसम्बन्धी कानुन, जातीय अन्याय, जलवायु परिवर्तन र वातावरणीय समस्या, रोजगारी खोसिने काम जस्ता समस्या पनि छन् । राजनीतिक ध्रुवीकरण, असमान आय, स्वास्थोपचारमा पहुँच र महँगोपन, दुखाइ कम गर्ने र अवैध लागुपदार्थको बढ्दो प्रयोग, शिक्षामा असमानता जस्ता समस्या छन् । 

एक नम्बर विश्व महाशक्तिले आफ्नो राष्ट्रिय सुरक्षा, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धलाई असर गर्ने बाह्य समस्या पनि भोगिरहेको छ । खास गरी चीन र रुस जस्ता मुख्य शक्तिसँगको तनाव वृद्धि भइरहेको छ र यसबाट व्यापार, सैनिक उपस्थिति र प्राविधिक अग्रणीपनमा प्रतिस्पर्धा बढ्दो छ । अहिले अलकायदा र आइएसआइएसबाट कम धम्की भोगे पनि नयाँ आतङ्कवादी सङ्गठनबाट हुने डर कायमै छ । राज्य र गैरराज्य तहबाट हुने साइबर धम्कीले पूर्वाधार, व्यवसाय तथा सरकारी निकायमा खतरा रहेको छ । उच्चस्तरको साइबर ह्याकले विभिन्न सिस्टम बिग्रने स्थिति पनि भइरहेको छ । नयाँ विश्वव्यापी समस्याका रूपमा रहेको जलवायु परिवर्तन र यसका अन्तर्राष्ट्रिय असरलाई सम्बोधन गर्नका लागि अमेरिकालाई निकै दबाब परेको छ । त्यस्तै मानवाधिकार, आप्रवासन र शरणाार्थी समस्या, महामारी, आणविक हतियारको प्रसार, विश्वव्यापी आर्थिक अस्थिरतालगायतका विषय पनि अमेरिकासँग जोडिएका छन् र तिनलाई हल गर्न अमेरिकाले वैदेशिक नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र आफ्नै राष्ट्रिय सुरक्षाबिच समन्वय मिलाउनुपर्ने हुन्छ । 

पूर्वराष्ट्रपति ट्रम्प वा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस, जसले जिते पनि नयाँ विश्वकीर्तिमान कायम हुन्छ, अघिल्ला उम्मेदवार एक पल्ट राष्ट्रपति भइसकेका तर दोस्रो कार्यकालका लागि पराजित व्यक्तित्व हुन् भने दोस्रो उम्मेदवार महिला हुन्, जो अफ्रिकी–एसियाली अमेरिकी हुन् । अमेरिकामा अहिलेसम्म महिला राष्ट्रपति भएको इतिहास छैन । नेपाल जस्ता साना, अविकसित राष्ट्रका लागि भने विश्वशान्तिका साथै आर्थिक विकास र समृद्धिका लागि ऋण, अनुदान, सहयोगमा उदार हुने राष्ट्रपति चाहिन्छ । साथै डायस्पोराका रूपमा रहेका नेपालीका साथै सबै आप्रवासीप्रति उदार व्यक्तित्व अनुकूल हुन्छ । विश्वको ध्यान एसियातिर परेको यस शताब्दीमा नेपाल पनि भूराजनीतिक रूपले महत्वमा परेकाले सन्तुलित तथा सबै मित्रराष्ट्रसँग राम्रो सम्बन्ध राखी आर्थिक समृद्धि भित्र्याउने दिशामा अग्रसर हुनु पर्छ । आफ्नो आन्तरिक सुरक्षालाई बलियो बनाउने र अहिले भइरहेका युद्ध, तनाव र आतङ्क रोकी विश्वशान्ति तथा सर्वत्र खुसी र समृद्धि ल्याउन मरिमेट्ने राष्ट्रपति छान्न अमेरिकी जनतालाई सफलता मिलोस् । 

Author

श्याम रिमाल