• १२ कात्तिक २०८१, सोमबार

कवितामाथि रङ र ब्रस

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १० गते । घरकै छिँडीमा रहेको ‘स्टुडियो’ मा रङ, ब्रस र क्यानभाससँग संवाद गरिरहने कलाकार किरण मानन्धर फरक परिवेशमा कवितामाथि ब्रस चलाइरहनुभएको थियो, शुक्रबार । त्यसअघि कवि रजनी ढकालले कविता वाचन गरेपछि अन्तिमका दुई हरफमा किरण मानन्धर टक्क रोकिनुभयो । किरणले भन्नुभयो,“हो, अब यहीँबाट म रङ पोत्छु ।”

कलाकार मानन्धरले भन्नुभयो, “स्टुडियोमा काम गर्दा परिकल्पनाको संसारमा घुम्नु पर्छ । कविसँगै बसेर कविता सुनेपछि त्यसैलाई पछ्याएर क्यानभास पोत्नु ज्यादै रमाइलो हुन्छ ।” नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा शुक्रबार आयोजित ‘काव्य–चित्र सिर्जना उत्सव’ मा १५ कविका कवितामाथि १५ कलाकारले कला सिर्जना गर्नुभएको थियो । “सिर्जनामाथि सिर्जना गर्नु त्यति सहज चाहिँ होइन,” कलाकार केशवराज खनालले भन्नुभयो, “यो प्रयोग पनि हो, कला र साहित्यको सम्बन्ध अनि शक्तिको परख पनि हो ।”

समसामयिक चित्रकला विभाग प्रमुख सञ्जय बान्तवा राईले साहित्यकारको सिर्जनामाथि कलाकारले चित्र बनाउने यो नौलो अभ्यास भएको बताउनुभयो । उहाँले साहित्य र ललितकला दुई क्षेत्रका सर्जकको संयुक्त प्रयासलाई निरन्तरता दिन सके साहित्यकार तथा ललितकलाकर्मीको सिर्जनाले अझै फक्रने अवसर पाउने बताउनुभयो । एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा ‘काव्य–चित्र सिर्जना उत्सव’ धेरै राम्रो भएको बताउनुभयो । कार्यक्रममा विश्वमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, स्नेह सायमी, किशोर पहाडी, गीता कार्की, मोमिला, रजनी ढकाल, मणि लोहनी, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, सुमन थापा, अनिता लामा, ओम रिजाल, दीप दर्पणका कवितामा किरण मानन्धर, रमेशनाथ खनाल, रामेश्याम मुल्मी, केके कर्माचार्य, केशवराज खनाल, दीपेन्द्रमान बनेपाली, देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, सञ्जय बान्तवा राई, दिनेश्वर महतो, अरुणा हिङमाङ, सौरगङ्गा दर्शनधारी, सन्तोष राई, नरेन्द्रबहादुर श्रेष्ठ, विपना महर्जन र सुन्दर लामाले कला सिर्जना गर्नुभएको थियो । कलाकृति सिर्जनापश्चात् आयोजित औपचारिक कार्यक्रममा कविहरूले कविता वाचन गर्नुभएको थियो ।