• १२ मंसिर २०८१, बुधबार

छठ पर्वमा माटाका सामग्रीको माग बढ्दो

blog

जनकपुरधामस्थित पेठिया बजारमा माटाका सामग्री बिक्री गर्न बसेका महिला ।

लक्ष्मी चौधरी

जनकपुरधाम, कात्तिक ९ गते । दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा तराई मधेशका बजारहरूमा माटोका भाँडाकुँडाको माग बढ्दै गएको छ । आउँदै गरेको दीपावली तथा छठ पर्वका लागि विशेषगरी माटाले बनेका सामग्री प्रयोग हुने हुँदा माटाका सामग्रीको माग बढ्दै गएको हो । 

दिपावली तथा छठ पर्वमा विशेषगरी माटाका दियो, कलश, करुवा, ढकनी, हात्ती जस्ता माटाले बनेका सामग्रीहरू प्रयोग हुने र आकर्षक देखिने हुँदा बजारमा यी सामग्रीको माग बढेको छ । 

यस्तै, जनकपुरधाम उपमहानगरपालिकास्थित पेठिया बजारमा माटोका सामग्री बिक्रि गर्न बस्नुुभएकी सुखनीदेवी पण्डितका अनुसार आधुनिकतासँगै प्रत्येक घरलाई विद्युतीय सामग्रीले छोए पनि माटोको भाँडाको विशेष महत्व हुन्छ, त्यसकारण पनि माटोका सामग्रीको बिक्री वितरण बढ्दै गएको छ । 

"छोराहरुले अन्य पेशासँगै बिहान बेलुका समय निकालेर माटाका सामग्री बनाइदिन्छन् र दिउँसो म जनकपुरधामको पेठिया बजारमा बेच्न आउँछु", उहाँले भन्नुभयो ।”

यसैगरी जनकपुरधाम–२४ बसहिया (कुम्हाल) गाउँका परिक्षण पण्डित २४ वर्षको उमेर हुँदादेखि नै माटोको सामग्री बनाउन लाग्नुभएको हो र अहिले उहाँ ७० वर्षको हुँदा समेत माटाका सामग्री बनाउन छोड्नुभएको छैन । दिपावली र छठ पर्व नजिकिँदै गर्दा उहाँ माटाका सामग्री बनाउन भ्याइनभ्याइ हुनुहुन्छ । उहाँले बनाएका माटाका सामग्री जनकपुरधामका विभिन्न बजार र काठमाडौंबाट पनि माग आउँछ । उहाँ भन्नुहुन्छ, “सिजन अनुसार गमला, घैला, ढकनी, ताउलो, दियो आदि सामग्रीहरु बनाउँछु, पहिलेभन्दा माग अहिले बढेको छ, मैले बनाएको माटाका सामान काठमाडौंसम्म पुग्ने गरेको छ, त्यसकारण भ्याइनभ्याइ हुन्छु ।” अहिले समयसँगै माटाका भाडाको बिक्री वितरण पनि बढ्दै गएको पण्डित बताउनुहुन्छ ।  विद्युतीय सामग्रीले बजार लिए पनि माटोको भाँडोको मागमा कमी नआएको उहाँको बुझाइ छ ।   

तर पछिल्लो समयमा माटो र अन्य कच्चा पदार्थको महँगाे मूल्य, बजारमा प्लास्टिकका सस्तो विकल्पहरूको आगमन तथा बनाउने प्रक्रिया निकै श्रमसाध्य र खर्चिलो हुने कारणले गर्दा धेरै कुम्हालहरूले आफ्नो परम्परागत पेशा परिवर्तन गरेका छन् । यसैले, माटाका भाँडाहरू बनाउने परम्परागत व्यवसाय संकटमा परेको कुम्हालहरुको भनाइ छ । जनकपुरधाम वडा नं. १६ का सोनुकुमार पण्डितका अनुसार पहिले माटो सहजै पाउँथ्यौं र भाँडा बनाउँदा धेरै आम्दानी हुन्थ्यो, तर अहिले माटोको अभाव र अन्य खर्चले गर्दा काम निरन्तरता दिन गाह्रो भएको छ ।

मधेशमा मनाइने यी पर्वहरूमा परम्परागत रीतिरिवाजका साथसाथै पर्यावरणमैत्री सामग्रीहरूको प्रयोगलाई प्राथमिकता दिइन्छ । विशेषगरी दीपावली, छठ तथा चौरचनमा प्रसाद राखेर भगवान चढाउनका लागि माटाका सामग्री प्रयोग गरिन्छ । घरघरमा विद्युतको पहुँच भए पनि परम्परागत दियोमा तेल हालेर पूजा गर्नुपर्ने मान्यता छ, जसले गर्दा दीपावलीमा माटाका दियोको प्रयोग आज पनि उतिकै महत्वपूर्ण मानिन्छ । चाडपर्वको समयमा शुद्धता र पवित्रतामा विशेष ध्यान दिने चलन भएकाले, माटाका भाँडाहरूको प्रयोग गर्नु धार्मिक मान्यताको हिसाबले शुद्ध मानिन्छ ।

स्थानीय बजारमा हरेक वर्ष जस्तै यसपटक पनि स्थानीय माटोका भाँडा बनाउने कुम्हालहरूका लागि यो समय व्यस्त रहन्छ । कुम्हालहरूको व्यवसाय मुख्यतः यी पर्वहरूमा निर्भर हुने भएकाले उनीहरूलाई वर्षभरि कामको अभाव भए पनि चाडपर्वको समयमा भने राम्रो आम्दानी हुने गर्छ ।

प्लास्टिक वा अन्य सामग्रीको दियो प्रयोगमा आउँदा वातावरण प्रदूषण र स्वास्थ्यमा समेत असर पर्ने भएकाले माटाका भाडाहरूको उपयोगलाई प्रोत्साहन दिन स्थानीय सङ्घसंस्था र वातावरण संरक्षणका अभियन्ताहरूले पनि सुझाव दिँदै आएका छन् । साथै, माटोका भाँडाकुँडा किनेर स्थानीय कुम्हालहरूको जीविकामा पनि टेवा पुग्ने हुनाले आम जनताले चाडपर्वमा परम्परागत सामग्रीलाई निरन्तरता दिनु राम्रो हुने उनीहरूको भनाइ छ । दीपावली र छठ पर्वको आगमनसँगै माटाका भाँडाकुँडाले बजारमा रौनक ल्याएको छ।