• १० मंसिर २०८१, सोमबार

कपडाको चोरी पैठारी बढ्यो

blog

प्रहरीले केही दिनअघि बरामद गरेको लत्ताकपडा ।

छविलाल पाण्डे 

बुटवल, कात्तिक ९ गते । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्वको बेला अन्य सामानभन्दा भारतबाट हुने कपडाको चोरी पैठारी बढेको जनाएको छ । चाडपर्वमा तयारी तथा काँचो कपडाको बिक्री बढी हुने हुँदा कपडाको चोरी पैठारी बढेको जनाएको हो । 

प्रहरीले रुपन्देहीबाट एकैपटक ६२ लाख ५० हजार बराबरको कपडा बरामद गरेको केही दिनमै भारतबाट चोरी पैठारी गरी ल्याएको करिव १० लाख मूल्य बराबरको कपडा पक्राउ गरेको जनाएको हो । गत असोज २० गते राती रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ बाट अवैध रुपमा भन्सार छली गरी ल्याइएको करिब ६२ लाख ५० हजार मूल्य बराबरको लत्ताकपडा विशेष सुराकीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । 

इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौरा मुर्गिया र प्रहरी चौकी बेलभरियाबाट खटिएको प्रहरी टोलीले उक्त ठूलो परिमाणको अवैध कपडा पक्राउ गरेको थियो । लत्ता कपडा ओसारपसारमा प्रयोग भएको लु १ ख ८३४० न.को ट्रक बरामद गरी इलाका प्रहरी कार्यालय बुटवल मार्फत भन्सार कार्यालय बेलहिया पठाएको इप्रका रन्यौराले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवल, इलाका प्रहरी कार्यालय रन्यौराको कार्यालयबाट प्रहरी निरीक्षक आदित्यराज विष्टको कमाण्डमा रहेको प्रहरी टोली र प्रहरी चौकी बेलभरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त ट्रकलाई पिछा गर्दै जाने क्रममा ट्रक चालकले ट्रक छोडेर फरार भएको प्रहरी निरक्षक बिष्टले जानकारी दिनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय सूर्यपुरा, छपिया र नगर प्रहरी कार्यालय बुटवल यसैगरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही कात्तिक ६ गते जिल्लाका विभिन्न स्थानहमा चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ अबैधरुपमा भन्सार छली चोरी निकासी पैठारी गरेको अवस्थामा ७ लाख बराबरको कपडा बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक लक्ष्मी खनालका अनुसार भारतबाट चोरी पैठारी गरी ल्याइने कपडामा साडी, कुर्ता सुरूवाल, कुर्ती, सर्टपाइण्टको कपडा, सुट, जुत्ता, चप्पललगायतका सामान सवैभन्दा बढी हुने गरेका छन् ।

यसैगरी चाडपर्वको बेला कपडापछि बढी चोरी पैठारी हुने सामानमा चिनी छ । 

प्रहरीले कात्तिक ६ र ७ गते मात्रै गस्तीका क्रममा ५९ बोरा चिनी बरामद गरेको जनाएको छ । जिल्ला प्रहरीले चोरी तस्करी नियन्त्रण गर्न दिनहुँ गस्ती गर्दै आएको जनाएको छ ।