विष्णुप्रसाद देवकोटा
डोल्पा, कात्तिक ९ गते । त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरबजारमा पार्किङ गरी राखेका दुई वटा मोटरसाइकलमा गए राति अज्ञात समूहद्वारा आगजनी गरेको छ । कर्णाली प्रदेश स्थानीय पूर्वाधार विकास मन्त्रालय सुर्खेतको ०१००१ प २३१७ र ०२०० २ प ०३९२ प्लेट नम्बरका मोटरसाइकलमा आगजनी भएको हो ।
त्रिपुरासुन्दरी नगरपालिका–१ कोटबगर बजारमा रहेको बस्नेत फ्रेस हाउसको पछाडि पार्किङ गरी राखिएका मोटरसाइकलमा आगजनी भएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रमेशबहादुर सिंहले जानकारी दिनुभयो । आगजनीबाट दुई वटा बाईक पूर्ण रुपमा क्षति र दुई वटामा सामान्य क्षति भएको छ ।
चौकी इन्चार्ज सिंहका अनुसार गएराति १२ बजेको समयमा अज्ञात समूहले आगजनी गरेको हो । फ्रेस हाउस सञ्चालक ललितबहादुर बस्नेतले आफू मस्त निद्रामा परेको समयमा मोटरसाइकलमा लागेको आगोको धुवाँ कोठामा पसेपछि मात्र प्राङ्गणमा राखिएका मोटरसाइकलमा आगजनी भएको थाहा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ढोका खोलेर बाहिर आउँदा त दनदनी आगो बलिरहेको थियो बाल्टीमा पानी ल्याएर आगो निभाएँ ।’
प्रहरी इन्चार्ज सिंहले कसले किन बाईकमा आगजनी गरेको हो भन्ने कुरा अनुसन्धान भइरहेको बताउनुभयो । त्रिपुराकोट बजारमा घरको आँगनमै पार्किङ गरिएका बाईकमा अज्ञात समूहले आगजनी गरेसँगै शान्ति सुरक्षामा चुनौती देखिएको छ ।
पार्किङ गरिराखिएका मोटरसाइकलमा आगजनी भएपछि बाईक धनीहरुमा त्रास देखिएको स्थानीय गोकर्ण कठायतले बताउनुभयो । केही दिनअघि मात्र त्रिपुराकोट भैरव मन्दिरमा पार्किङ गरिराखेका दुईवटा मोटरसाइकल न्युटलमै गुडाएर चोर्ने नियतले बिच बजारमा ल्याएर अज्ञात समूहले छाडेको थियो ।