• १२ कात्तिक २०८१, सोमबार

माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण हुने

blog

माथिल्लो तमोर जलविद्युत आयोजना स्थलमा पर्ने तमोर नदी। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, कात्तिक ८ गते। ताप्लेजुङमा तमोर इनर्जी प्रालिले माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। तमोर नदीको पानी उपयोग गरी प्रालिले २८५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने भएको हो।  

जिल्लाको फक्ताङ्लुङ गाउँपालिकामा आयोजनास्थल पर्दछ। फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकमा आयोजनाको बाँध (मुहान) रहने छ। सोही गाउँपालिका–३ लिङ्खिमको ठौवामा विद्युत गृह रहने गरी आयोजना निर्माण हुने भएसँगै काम नै प्रारम्भ भइसकेको तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले बताउनुभयो।

अध्यक्ष ढुङ्गानाका अनुसार आयोजनाका लागि प्रयोग हुने व्यक्तिगत स्वामित्वमा रहेको जग्गा खरिद गरिसकेको छ। जग्गा खरिद गरिसकेपछि आयोजना स्थलमा हालसम्म शिविर (आवास) का संरचना निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो। यस्तै सडक निर्माणको काम भइरहेको ढुङ्गानाको भनाइ छ। 

उहाँकाअनुसार आयोजनाको तापेथोक बगरमा रहने बाँध स्थलदेखि विद्युत गृह ठौवासम्म ८.३७० किलोमिटर लामो सुरुङ हुनेछ। विद्युत गृह भूमिगत हुने उहाँले जानकारी दिनुभयो। आयोजना निर्माणपछि उत्पादन हुने विद्युत करिब १५ किलोमिटर टाढा रहेको मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघु सब–स्टेसनमा जडान गरिने छ। नेपाल विद्युत प्राधिकरणको उक्त ढुङ्गेसाँघु सव-स्टेसनमार्फत कोशी कोरिडोर हुँदै राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुने प्रवर्द्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले जानकारी दिनुभयो।  

तमोर इनर्जी प्रालिका अनुसार आयोजना निर्माण गर्न कुल ५५ अर्ब १५ करोड रुपियाँ लगानी हुने अनुमान गरिएको छ। कुल लागतको करिब ३० प्रतिशत रकम प्रवर्द्धक कम्पनीको आन्तरिक लगानी हुने र ७० प्रतिशत विभिन्न बैङ्क तथा वित्तीय संस्थाको हुने कम्पनीले जनाएको छ। आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नौ अर्ब २७ करोड रुपियाँ प्रतिवर्ष आम्दानी हुनेछ। त्यसपछि क्रमशः तीन प्रतिशतसम्म वृद्धि हुँदै आयोजनाबाट ११ अर्ब ५० करोड रुपियाँ वार्षिक आम्दानी हुने अनुमान गरिएको प्रालिले जनाएको छ।

प्रवर्द्धक कम्पनीले स्थानीय सरोकारवालासँग सदरमुकाम फुङ्लिङमा जिल्लास्तरीय अन्तर्क्रिया गर्दै आयोजना निर्माण गर्दा आयोजनाका तर्फबाट निर्वाह गर्नुपर्ने जिम्मेवारीमा कुनै कमी हुन नदिने प्रतिबद्धता गरेको छ। आयोजनाको काममा स्थानीयलाई रोजगारी दिने विषय, सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले बेहोर्नुपर्ने करिब ३२ करोड रुपियाँ हुने र सो रकम तलमाथि नगरी कार्यान्वयन गर्ने कम्पनीले जनाएको छ।

प्रवर्द्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले सामाजिक उत्तरदायित्वको रकम दूरगामी प्रभाव राख्ने योजनामा खर्च गर्नेगरी स्थानीयसँग परामर्श गर्ने बताउनुभयो। सामाजिक उत्तरदायित्व रकमको ५० प्रतिशत शिक्षा क्षेत्र र बाँकी रकम अन्य आवश्यकतामा खर्च गर्न आफ्नो प्रस्ताव रहेको पनि उहाँले बताउनुभयो। प्रस्ताव पारित भएमा शिक्षा क्षेत्रमा एक नमुना हुनेगरी भवन लगायतका संरचना निर्माण गरिदिने उहाँको भनाइ छ।

यता स्थानीय सरोकारवालाको तर्फबाट प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले २८५ मेगावाट क्षमताको जलविद्युत आयोजना ताप्लेजुङमा निर्माण हुन लाग्नु खुसीको विषय भएको बताउनुभयो। पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले संविधान, ऐन, नियम र कानुनमा भएको व्यवस्था कार्यान्वयन गरी आयोजना निर्माण गर्न सुझाव दिनुभयो। निर्बाध रूपमा आयोजना निर्माण गर्ने वातावरणका लागि जनप्रतिनिधि समेतको हैसियतले आफूले सहयोग गर्ने पनि बताउनुभयो।

यस्तै प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेतृत्व, सामाजिक सङ्घ संस्थाका प्रतिनिधि लगायतले पनि स्थानीयको आवश्यक मागलाई सम्बोधन गरेर निर्माणको काम गर्न सुझाव दिएका छन्। आयोजनाप्रति रहेका सामान्य विवाद तथा अवरोधहरू छलफल र संवादको माध्यमबाट समाधान गर्नुपर्ने र आवश्यक समन्वयका लागि सहयोग गर्नेसमेत स्थानीयको भनाइ थियो।    

प्रवर्द्धक कम्पनीका अध्यक्ष ढुङ्गानाले आयोजना निर्माण गर्न २०६४ सालदेखि प्रक्रिया सुरु गरेको र सबै प्रक्रिया पूरा गरेर लामो समयपछि निर्माणको चरणमा आइपुगेकाले सहयोग स्थानीयलाई आग्रह गर्नुभयो। कम्पनीका तर्फबाट प्रावधान र प्रतिबद्धता कार्यान्वयनमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। निर्माणको काम सुरु गरेको चार वर्षभित्र अर्थात् आगामी २०८५ जेठ मसान्तसम्ममा आयोजना सम्पन्न गर्ने पनि कम्पनीले जनाएको छ। आयोजनाको मुख्य प्रभावित क्षेत्रमा फुङ्लिङ नगरपालिका–१० फुरुम्बु पनि पर्ने बताइएको छ।