पुरुषोत्तम सुवेदी
(पश्चिम), नवलपरासी, असार ९ गते । पश्चिम नवलपरासीका सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आ–आफ्ना नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेका छन् । यी गाउँपालिकाहरूले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, सुशासन र सामाजिक सुरक्षालाई प्रमुख प्राथमिकतामा राख्दै जनमुखी कार्यक्रमहरू अघि सारेका छन् ।
सुस्ता गाउँपालिकाः ‘विद्यालयमा बढाऔँ र विद्यालयमा नै पढाऔँ’, ‘घर घरमा स्थानीय सरकार’
सुस्ता गाउँपालिकाले पनि आफ्नो १७ औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाइ जस्ता आधारभूत सेवामा सबैको समतामूलक पहुँच, कृषिको उत्पादन र उत्पादकत्वमा अभिवृद्धि, रोजगारी सिर्जना र सुशासन प्रवर्धनलाई उच्च प्राथमिकता दिइएको छ ।
शिक्षातर्फ ‘विद्यालयमा बढाऔँ र विद्यालयमा नै पढाऔँ’ तथा ‘स्वस्थ मस्तिष्क, स्वस्थ ज्यान, योग सँगै शिक्षामा ध्यान’ जस्ता कार्यक्रमहरू ल्याइएका छन् । उत्कृष्ट विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्ने नीति पनि लिइएको छ । ‘एक घर एक धारा’ र ‘हाम्रो गाउँ, सफा गाउँ’ जस्ता सरसफाइका कार्यक्रमहरूका साथै ‘भ्रष्टाचारमा शून्य सहनशीलता’ र ‘घर घरमा स्थानीय सरकार’ जस्ता सुशासनका अवधारणाहरूलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।
सरावल गाउँपालिका : “हाम्रो सरावल’’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने
सरावल गाउँपालिकाले आफ्नो गाउँसभाको १६ औँ अधिवेशनमार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, बाढी नियन्त्रण, वातावरण सरसफाइ र सामाजिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखेको छ ।
विशेषगरी, “हाम्रो सरावल’’ नामक स्थानीय पाठ्यक्रम लागू गर्ने र आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने नीति यस गाउँपालिकाको प्रमुख आकर्षण बनेका छन् । गाउँसभाले वन विधेयक २०८२ र खानेपानी तथा सरसफाइ विधेयक २०८२ समेत पारित गरेको छ ।
शिक्षा क्षेत्र तर्फ : “विद्यार्थीअनुसार शिक्षक दरबन्दी’’ कायम गर्ने र स्थानीय परिवेश सुहाउँदो “हाम्रो सरावल’’ नामक स्थानीय पाठ्यक्रम लागू गरिने । साथै, अभिभावक सचेतना कार्यक्रममार्फत शिक्षामा उनीहरूको पहुँच र सहभागिता बढाउने नीति लिइएको छ ।
स्वास्थ्य क्षेत्र तर्फ : गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने । पूर्वाधार विकास तर्फ : सडक, भवन निर्माणलगायतका भौतिक पूर्वाधार विकासका कार्यहरूलाई उच्च प्राथमिकता दिइने । बाढी नियन्त्रण तर्फ : बाढी प्रभावित क्षेत्र भएकाले बाढी नियन्त्रण तथा व्यवस्थापनका लागि विशेष योजनाहरू कार्यान्वयन गरिने छ । यसैगरी वातावरण सरसफाइ तर्फ : “शून्य फोहर अभियान’’ सञ्चालनका लागि “आफ्नो गाउँ आफैँ सफा गरौँ’’ भन्ने नारालाई सार्थक बनाइने छ । सामाजिक सुरक्षा तर्फ : “सडक आश्रित मानव मुक्त गाउँपालिका’’ घोषणा गर्ने नीति समावेश गरिएको छ ।
प्रतापपुर गाउँपालिकाः बालविवाह मुक्त पालिकाको घोषणा र किसानलाई निःशुल्क सिँचाइ
प्रतापपुर गाउँपालिकाले पनि आफ्नो १८ औँ गाउँसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा प्रतापपुर गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउने महत्त्वाकाङ्क्षी घोषणा गरिएको छ । यसका लागि नेपाल सरकारले तोकेको विवाहको उमेर पुगी सामाजिक परम्पराअनुसार विवाह गर्ने प्रतापपुरका छोरीहरूलाई विवाह खर्चमा गाउँपालिकाले सहुलियत तथा सहयोग प्रदान गर्ने कार्यक्रम ल्याएको छ ।
साथै, किसानलाई ठुलो राहत दिने गरी खेतीमा जडान गरिएको कृषि मिटरको बिल रकम गाउँपालिकाले भुक्तानी गरी निःशुल्क सिँचाइको व्यवस्था गरिने भएको छ । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष जोड दिइएको यस गाउँपालिकाले जगन्नाथपुर आधारभूत अस्पताललाई १५ शय्याको अस्पतालमा स्तरोन्नति गर्ने र ‘एक घर एक स्वास्थ्यकर्मी’ कार्यक्रम लागू गर्ने जस्ता योजनाहरू समावेश गरेको छ ।