• १० मंसिर २०८१, सोमबार

फ्यानको चुनाव पुनः हुने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ८ गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को चुनाव आगामी तीन महिनाभित्र पुनः हुने भएको छ । 

भदौ २८ गते भएको फ्यानको ३२ औँ साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमितिका लागि चुनाव भएको थियो । अध्यक्ष पदका लागि दिलीप बादे र मीनबहादुर तामाङले उम्मेदवारी दिनुभएको थियो । बादे दुई मतले विजय हुनुभएको थियो । बादेको अध्यक्षतामा नयाँ निर्वाचित कार्यसमिति गठन भएको थियो । नयाँ कार्यसमिति विधानविपरीत भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको थियो । 

फ्यानमा ६८२ जनालाई सदस्य छन् । चुनावमा सदस्य नै नरहेका व्यक्तिले मतदान गरेको भन्दै फ्यानकै एक जना सदस्यले फर्जी भोट खसेपछि विधानविपरीत कार्यसमिति गठन भएको भन्दै भदौ २९ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।  

उजुरी परेपछि जिल्ला प्रशासन कार्यालयले सो कार्यसमितिलाई विघटन गरेको थियो । नयाँ कार्यसमिति विधिसम्मत नदेखिएकाले सो समितिलाई विघटन गरी अर्को निर्वाचित समिति चयन नभएसम्म दुवै पक्षको सहमति हुने गरी पाँच सदस्यी तदर्थ समिति गठन गरिएको छ । सूर्यभक्त श्रेष्ठको अध्यक्षतामा गठन भएको सो तदर्थ समितिले तीन महिनाभित्र विशेष साधारण सभा बोलाई निर्वाचन गराई नयाँ कार्यसमिति चयन गर्ने छ । एसोसिएसनले आगामी दिनमा निर्वाचनको समयमा मतदाता नामावली अनिवार्य रूपमा सार्वजनिक गरी वैधता परीक्षण  गरी नामावली प्रकाशन गर्र्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्देशन दिएको छ । 

आजदेखि गोदावरी फूलको प्रदर्शनी

तिहारलक्षित गरेर बिहीबारदेखि ललिपुरको जावलाखेल मैदानमा सत्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुँदै छ । फ्यानका तदर्थ समितिले सो मेलाको आयोजना गरेको हो । 

पुष्प व्यवसायको व्यावसायिक विकास तथा प्रवर्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । तिहारका बेला प्रत्येक वर्ष प्रदर्शनी हुँदै आएको छ । 

गोदावरी फूलका नयाँ प्रजातिका फूल बिरुवाको प्रदर्शनी तथा बिक्रीवितरण हुने गर्छ । यसका साथै सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवा प्रदर्शनीमा राखिने छ । पुष्प व्यवसायका क्षेत्रमा भए नयाँ नयाँ प्रविधि र उपलब्धिको बारेमा जानकारी गराइने छ । प्रर्दशनीबाट उपभोक्ताले तिहारका लागि आवश्यक पर्ने फूल खरिद गर्न सक्ने छन् । प्रदर्शनीमा ७५ वटा स्टल रहने छन् । प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृतसमेत गरिने फ्यानले जनाएको छ । चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ४० हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।