• १३ पुस २०८१, शनिबार

पाँच वर्षपछि मोदी र सीबिच पहिलो द्विपक्षीय वार्ता

blog

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङ ।

कजान (रुस), कात्तिक ७ गते । भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरुबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसमा आयोजित ब्रिक्स बैठकको अवसरमा भेटवार्ता गर्नुभएको छ । यो पाँच वर्षपछि दुई नेताबिचको पहिलो औपचारिक भेट हो । सीले मोदीलाई चीन र भारतले सहकार्य बढाउनुपर्ने बताउनुभएको चिनियाँ सरकारी मिडियाले बुधबार जनाएको छ ।

“चीन र भारतले इतिहासको प्रवृत्ति र द्विपक्षीय सम्बन्धको विकासको दिशालाई सही ढङ्गले बुझ्नु दुवै देश र जनताको मौलिक हितमा छ”, सरकारी प्रसारक सिसिटिभीले सीलाई उद्धृत गर्दै भनेको छ, “दुवै पक्षले सञ्चार र सहकार्य बढाउनुपर्छ, मतभेद र भिन्नताहरूलाई उचित ढङ्गले सम्हाल्नुपर्छ र एक अर्काको विकासका सपनाहरूलाई साकार पार्नुपर्छ ।”

सीले मोदीलाई दुवै देशले ‘अन्तर्राष्ट्रिय जिम्मेवारीहरु बहन गर्नुपर्ने, एकतामार्फत शक्ति खोज्ने विकासशील देशहरूका लागि उदाहरण बन्नुपर्ने र बहुध्रुवीय विश्व र अन्तर्राष्ट्रिय सम्बन्धहरुको लोकतान्त्रीकरणमा योगदान पुर्याउनुपर्ने’ बताउनुभएको सिसिटिभीले जनाएको छ ।

पारस्परिक विश्वास 

मोदीले चीनसँगको सम्बन्धमा ‘पारस्परिक विश्वास’ ले मार्गदर्शन गर्ने बताउँदै सीमा विवादमा भएको ‘सहमति’ लाई स्वागत गर्नुभएको छ । “भारत-चीन सम्बन्ध हाम्रा देशका जनताका लागि र क्षेत्रीय तथा विश्व शान्ति र स्थिरताका लागि महत्त्वपूर्ण छ”, मोदीले एक्समा लेख्नुभएको छ, “पारस्परिक विश्वास, पारस्परिक सम्मान र पारस्परिक संवेदनशीलताले द्विपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ ।”

विश्वका दुई सबैभन्दा धेरै जनसङ्ख्या भएका राष्ट्रका नेताहरुले विगत केही वर्षमा अन्तर्राष्ट्रिय शिखर सम्मेलनहरुको अवसरमा छोटो भेटघाट गर्नुभएको थियो । सन् २०१९ अक्टोबरमा सी भारतको महाबलीपुरम शहरमा मोदीसँग भेट्न आएको बेला पछिल्लो पटक आमने-सामने औपचारिक वार्ता भएको थियो ।

केही महिनापछि सन् २०२० मा उच्च हिमाली क्षेत्र लद्दाखमा रहेको विवादित सीमामा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध बिग्रिएको थियो । चीन र भारत कट्टर प्रतिद्वन्द्वी हुन् र दुवैले एक अर्कालाई वास्तविक नियन्त्रण रेखा (एलएसी) भनिने अनौपचारिक विभाजन रेखा वरिपरिको क्षेत्र कब्जा गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

त्यसयता दुवै पक्षले दशौँ हजार सैनिक फिर्ता गरेका छन् र साँघुरो विभाजन पट्टीमा गस्ती नपठाउने सहमति गरेका छन् । तर भारतले सोमबार चीनसँग ‘गस्ती व्यवस्थाबारे सहमति’ भएको जनाएको छ । यसले सैन्य गतिरोधलाई कम गरेको छ । रासस/एएफपी