• ६ असार २०८२, शुक्रबार

हलगोरु पाल्ने किसानलाई अनुदान

blog

स्याङ्जा समाचारदाता 

स्याङ्जा, असार ६ गते । फेदीखोला गाउँपालिका स्याङ्जाले हल गोरु पाल्ने किसानलाई बिहीबार १४ लाख ४५ हजार प्रोत्साहन अनुदान वितरण गरेको छ । 

हामी सधैँ श्रमजीवी र किसानको पक्षमा दृढताका साथ उभिएका छौँ भन्ने नारासहित पालिकाले परम्परागत कृषि प्रणालीको संरक्षण र कृषकलाई आर्थिक प्रोत्साहन दिने उद्देश्यले हलगोरु पाल्ने किसानलाई अनुदान वितरण गरेको जनाएको छ । 

यस कार्यक्रममा २२४ जना किसान समेटिएको बताउँदै पालिकाका अध्यक्ष घनश्याम सुवेदीले गाउँपालिकाभित्र २९० वटा गोरुका लागि प्रतिहल १० हजार रुपियाँका दरले अनुदान वितरण गरिएको जानकारी दिनुभयो । 

गाोरु पाल्ने किसानलाई नगद अनुदान दिने गाउँ सभाको निर्णय अनुसार किसानलाई नगद प्रदान गरिएको हो । यस्तै यो कार्यक्रमले किसानको मनोबल बढाउँदै दिगो, आत्मनिर्भर र सांस्कृतिक रूपमा समृद्ध कृषि प्रणालीतर्फ सकारात्मक सङ्केत दिएको सुवेदीले बताउनुभयो । 

यस अनुदान कार्यक्रमले किसानको उत्पादन लागत घटेर आम्दानी बढ्ने, सामूहिक श्रम र परम्परागत कृषि अभ्यासको पुनर्जीवन, यान्त्रिक जोतको सट्टा वातावरणमैत्री विधिको प्रोत्साहन, हराउँदै गएको हल गोरु जोत्ने परम्पराको संरक्षण हुने अपेक्षा पालिकाले लिएको छ ।