• १२ पुस २०८१, शुक्रबार

यामबहादुरको बारीमा मुलै मुला (फोटो फिचर)

blog

बारीमा उत्पादित मुला बिक्रीका लागि तयार गरिदै । तस्विरः राधा लुइँटेल

फिदिम,कात्तिक ७ गते । पाँचथरका किसान यामबहादुर मुखियाको बारीभरि मुलै मुला छ । उहाँलाई यति बेला आफूले उत्पादन गरेका मुला  बिक्री गर्न भ्याई नभ्याई छन् ।

विशेषगरी फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकामा मुला उत्पादन हुन्छ । यी दुई वटा स्थानीय तहमा मात्रै १ सय ९० हेक्टर जमिनमा व्यावसायिक मुला खेती गरिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कले समेत यहाँ बर्सेनि २ सय टन मुला उत्पादन हुने देखाएको छ ।

यस क्षेत्रका किसानले रासायनिक मल र विषादीको प्रयोग नगरी जैविक विधिबाट मुला उत्पादन गर्छन् । यहाँ उत्पादन भएका मुला अचार बनाउन झापा हुँदै भारतसम्म पुग्छ ।

साउनदेखि कात्तिकसम्म मुला उत्पादन हुने मुख्य सिजन हो । यो बेला मेची राजमार्गको इलाम फिदिम सडक खण्डमा पर्ने राँकेदेखि कान्छी दोकानसम्म किसानले ठुलो परिमाणमा मुला सडकमा निकालेर पहिले धोइ पखाली र त्यसपछि प्याक गरेर विक्री गरिरहेकाे दृश्य निकै नै रोचक लाग्छ ।

मुला राम्ररी उत्पादन भए पनि मूल्य भने सन्तोषजनक नभएको किसान यामबहादुरको दुःखेसो छ । विगत वर्ष यो सिजनमा मुला प्रतिकिलो २० रुपियाँसम्ममा विक्री भएको थियो । यो वर्ष भने मूल्य घटेर १२ देखि १५ रुपियाँ प्रतिकिलोमा सीमित भएको किसानहरू बताउँछन् ।