• २० पुस २०८१, शनिबार

दसैँ सकिएसँगै गाउँघर सुनसान

blog

दसैँ मनाएर परिवारका सदस्य सहर फर्किएपछि सुनसान बनेको गाउँको एक घर ।तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, कात्तिक ७ गते  । हिन्दुको महान् चाड दसैँ सकिएसँगै अहिले ताप्लेजुङका गाउँघर सुनसान हुन थालेका छन् । जागिर, रोजगारलगायतका काममा संलग्न आफ्नो कर्मथलोतर्फ फर्कन थालेपछि गाउँघर पुनः सुनसान हुँदै गएको हो । 

जागिर, रोजगार तथा विभिन्न कामले बजार वा अन्यत्र रहँदै आएका गाउँ फर्किएपछि दसैँ अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । दसैँ सकिएपछि गाउँ आएकाहरू पुनः बजार फर्किनाले अहिले गाउँघर सुनसान हुन थालेको हो । ताप्लेजुङको ग्रामीण क्षेत्रका अधिकांश स्थानीय सदरमुकाम फुङ्लिङ, काठमाडौँ, धरान, विराटनगरलगायतका सहरमा गएर बस्ने गर्छन् ।

जागिरसँगै विभिन्न कामको सिलसिलामा गाउँ छोड्ने व्रmमले हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै न्यून रहने गरेको छ । लामो समयसम्म टाढा आफन्त वा परिवारका सदस्य गाउँ आएपछि चाडपर्व निकै रमाइलो पनि हुने गर्छ । दसैँ सुरु भएपछि गाउँघर आएका आफन्तले केही दिन रमाइलो भए पनि उनीहरू बजारतर्फ फर्किन थालेपछि सुनसान बन्न थालेको सिदिङ्वा गाउँपालिका–४ का स्थानीय अमरबहादुर लिम्बूले बताउनुभयो । लिम्बूका अनुसार परिवारका अधिकांश सदस्य सेवा सुविधा खोज्दै बजार वा सहर केन्द्रित भइदिँदा गाउँमा बुढापाका र साना बालबालिका मात्रै रहेका छन् । सरकारी जागिरमा संलग्न भएकाले खटाएको ठाउँमा जानैपर्ने उहाँ बताउनुहुन्छ । जागिरमा संलग्न नभएकाले गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । 

जागिर र अन्य कामका सिलसिलामा अधिकांश गाउँबाहिर रहेर चाडपर्वका समयमा आए पनि चाड सकिएपछि फर्किनुपर्ने अवस्थाले गाउँघर सुनसान हुने गरेको छ । गाउँघर बाहिर रहेकाहरू दसैँ सकिएपछि आआफ्नो गन्तव्यतिर लागेपछि गाउँ उराठलाग्दो नै बनेको फक्ताङ्लुङ गाउँपालिका–४ का वसन्त लिम्बूले बताउनुभयो । 

लिम्बूका अनुसार जागिर तथा रोजगार गर्नेले गाउँ छोडिसकेका र सहरमा बसेर अध्ययन गर्ने केही विद्यार्थी मात्र अहिले गाउँमा रहेका छन् ।