• ११ पुस २०८१, बिहिबार

कर्मचारीतन्त्रका विशेषता : विषयगत प्रश्नोत्तर

blog

कर्मचारीतन्त्रका विशेषता 

१. कर्मचारीतन्त्रका विशेषता प्रस्तुत गर्दै सार्वजनिक नीति कार्यान्वयनमा कर्मचारीतन्त्रले खेल्ने भूमिका उल्लेख गर्नुहोस् ।

कानुन प्रदत्त अधिकारको निष्पक्ष र विवेकशील प्रयोग गरी सरकारका नीति कार्यान्वयनमा योगदान गर्ने प्रशासनिक प्रणालीलाई कर्मचारीतन्त्र भनिन्छ । कर्मचारीतन्त्रमा हुने लिखित निर्णय र निर्णयको अभिलेखीकरण गर्ने कार्यशैलीका कारण संस्थागत सम्झना दीर्घकालसम्म रहिरन्छ । कार्य विभाजन र कार्य विशिष्टीकरणले कार्यकुशलता बढाउँछ । नीति कार्यान्वयनको स्थायी संयन्त्र भएकोले राजनीतिक रिक्तताको अवस्थामा समेत सेवा प्रवाह र नीति कार्यान्वयनले निरन्तरता पाउँछन् । कर्मचारीतन्त्रका प्रमुख विशेषता र सार्वजनिक नीति कार्यान्वयनमा यसले खेल्ने भूमिका देहायबमोजिम रहेको छ :

कर्मचारीतन्त्रका विशेषता 

पदसोपानिक संरचना र कार्यप्रणाली,

पदसोपानका आधारमा जिम्मेवारी र उत्तरदायित्व,

कार्य विभाजन र कार्य विशिष्टीकरण,

योग्यतातन्त्रमा आधारित,

निर्णय र कार्यको लिखित अभिलेख रहने,

निष्पक्षता र निरन्तरता,

स्थायी प्रकृतिको संरचना र वृत्तिपथको व्यवस्था,

सार्वजनिक नीति कार्यान्वनयमा कर्मचारीतन्त्रको भूमिका 

नीति कार्यान्वयन कार्ययोजना निर्माण,

स्रोत व्यवस्थापन र जनशक्ति परिचालन,

तहगत एवं निकायगत समन्वय र सञ्चार,

नीति पैरवी, प्रचार प्रसार र सूचना आदानप्रदान,

नीतिउपर आमसमर्थन जुटाउन पहल,

नीति सम्बद्ध पक्षहरूबिच छलफल तथा अन्तर्क्रिया,

विभिन्न चरणमा निर्णय निर्माण र कार्यान्वयन,

नियमन, सुपरीवेक्षण र निरीक्षण,

नीति कार्यान्वयनमार्फत सेवा प्रवाह र गुनासो सुनुवाइ, 

नीति कार्यान्वयनमा अनुभव, विज्ञता र व्यावसायिकताको प्रयोग,

नीति कार्यान्वयनको अनुगमन, नियमित प्रतिवेदन, प्रगति समीक्षा र पृष्ठपोषण ग्रहण,

नीति पुनरावलोकन र परिमार्जनका लागि राजनीतिक नेतृत्वलाई सुझाव प्रदान ।

अन्त्यमा, कर्मचारीतन्त्रको प्रमुख कार्य नै नीति कार्यान्वयन हो । सार्वजनिक नीतिको प्रभावकारी कार्यान्वयन गरी नीति लक्ष्यहरूलाई नीति नतिजामा रूपान्तरण गर्न सकेमा मात्र कर्मचारीतन्त्र नागरिकको सच्चा सेवक हो भन्ने कुरा प्रमाणित हुन सक्छ ।


२. प्रहरी ऐन, २०१२ ले प्रहरी विशेष अदालतको स्थापना र गठन सम्बन्धमा गरेको व्यवस्था उल्लेख गर्नुहोस् ।

  प्रहरी ऐनले प्रहरी कर्मचारीबाट ऐनबमोजिमका कसुर गरेमा त्यस्तो मुद्दाको सुरु कारबाही र किनारा गर्न विभिन्न तहका प्रहरी विशेष अदालत स्थापना गर्न सकिने व्यवस्था गरेको छ । प्रहरी सङ्गठनलाई अनुशासित र पेसाप्रति इमानदार बनाउनको लागि प्रहरी विशेष अदालतको स्थापना र गठन गर्ने परिकल्पना गरिएको छ । यस सम्बन्धमा ऐनले गरेको व्यवस्था यस प्रकार छ । 

प्रहरी विशेष अदालतको स्थापना र गठन

प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षकसम्मका लागि जिल्ला प्रहरी विशेष अदालत गठन हुने,

प्रहरी नायब निरीक्षक देखि प्रहरी नायब उपरीक्षकसम्मका लागि क्षेत्रीय प्रहरी विशेष अदालत गठन हुने,

प्रहरी उपरीक्षक र सोदेखि माथिल्लो तहको प्रहरी अधिकृतका लागि केन्द्रीय प्रहरी विशेष अदालत गठन हुने,

प्रत्येक अदालतमा न्याय सेवाको अधिकृतको अध्यक्षतामा एक जना प्रहरी अधिकृत सहित तीन जना सदस्य रहने । कारबाहीमा पर्ने व्यक्ति प्रहरी अधिकृत भएमा निजभन्दा तल्लो श्रेणीको अधिकृत विशेष अदालतमा रहन नसक्ने,

जिल्ला प्रहरी विशेष अदालत, क्षेत्रीय प्रहरी विशेष अदालत र केन्द्रीय प्रहरी विशेष अदालतको गठन आवश्यकता अनुसार नेपाल सरकार गृह

मन्त्रालयले गर्ने,

प्रहरी नायब निरीक्षक वा सोदेखि माथिल्लो दर्जाका अधिकृत र सोही वा तल्लो तहका प्रहरी कर्मचारी सङ्गठित भई कसुर गरेमा त्यस्तो मुद्दाको सुरु कारबाही र किनारा गर्नका लागि नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशन गरी छुट्टै प्रहरी विशेष अदालतको स्थापना गर्न सक्ने,

प्रहरी कर्मचारीले गरेका ऐनबमोजिमका कसूरका सम्बन्धमा सुरु कारबाही गर्ने र किनारा लगाउने सम्बन्धमा प्रहरी विशेष अदालतले आफ्नो कार्यविधि आफैँ निर्धारण गरी काम कारबाहीलाई व्यवस्थित गर्न सक्छ ।

यसरी प्रहरी सङ्गठनभित्र अनुशासन कायम गर्न तथा पेसागत मूल्यमान्यता विपरीतका आचरणलाई नियन्त्रण गर्न आवश्यकता अनुसार प्रहरी विशेष अदालतको गठन गर्न सकिने व्यवस्थालाई महìवपूर्ण व्यवस्थाको रूपमा लिन सकिन्छ ।


३. निजामती सेवा नियमावलीमा व्यवस्था भएबमोजिम निजामती कर्मचारीले आफ्नो कार्यसम्पादनको क्रममा ध्यान दिनुपर्ने नैतिक दायित्वहरू उल्लेख गर्नुहोस् ।

राज्यकोषबाट पारिश्रमिक प्रदान गरी राष्ट्र र जनताको सेवा गर्न नियुक्त गरिएका गैरसैनिक प्रकृतिका कर्मचारी नै निजामती कर्मचारी हुन् । कर्मचारीको कार्यव्यवहार र आचरण नागरिकमैत्री हुने अपेक्षा गरिन्छ । निजामती सेवा नियमावलीले व्यवस्था गरेबमोजिम निजामती कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा देहायबमोजिमका नैतिक दायित्वलाई ध्यान दिनु पर्छ ।

सेवाग्राहीहरूप्रति समान किसिमको व्यवहार गर्ने,

राष्ट्र र जनताको बृहत्तर हितलाई प्राथमिकता दिने,

वस्तु तथा सेवा वितरणको मापदण्ड र कार्यविधिको पारदर्शिता कायम राख्ने,

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,

साधन र स्रोतको मितव्ययितापूर्वक परिचालन गर्ने,

कार्यसम्पादन प्रक्रियालाई सरलीकृत गर्ने,

न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने,

आधारभूत मानवीय मूल्य र मान्यताप्रति सम्मान गर्ने,

सबै समुदाय र क्षेत्रप्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्ने,

अतः उल्लिखित नैतिक दायित्वको परिपालनाले निजामती सेवाप्रतिको नागरिकको विश्वासलाई झनै सुदृढ गराउँदछ । निजामती कर्मचारीलाई सक्षम, निष्पक्ष, पारदर्शी, जवाफदेही र जनउत्तरदायी बनाउन पनि यी नैतिक दायित्व पालना गर्न आवश्यक देखिएकाले अनुपालनाको विषयलाई कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनसँग जोड्न जरुरी देखिन्छ ।


४. अपराध नियन्त्रणमा नागरिकले खेल्नुपर्ने भूमिकामाथि प्रकाश पार्नुहोस् ।

  कानुनले गर्नु भनेको कार्य नगर्नु र नगर्नु भनेको कार्य गर्नुलाई अपराध भनिन्छ । समाजलाई शान्त, सभ्य र सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न अपराध नियन्त्रण जरुरी हुन्छ । नागरिकको जिउ–ज्यान, सम्पत्ति र स्वतन्त्रता रक्षाको प्रधान दायित्व राज्यसँग रहन्छ । यसका लागि संसद्, सरकार र न्यायालय तथा मातहतमा प्रहरी र प्रशासनको प्रबन्ध गरिएको हुन्छ । कानुन निर्माण, कार्यान्वयन र कानुनको विवेकशील एवं न्यायसङ्गत व्याख्याबाट समाजमा शान्ति र न्याय स्थापना गर्न सहयोग पुग्छ । तसर्थ अपराध र यसको नियन्त्रण कानुन तर्जुमा र कार्यान्वयनसँग जोडिएको हुन्छ । कुनै कृत्य कसुर हो होइन भन्ने कुराको निक्र्योल कानुनले गर्छ र सोको सजायको स्तर निर्धारण पनि कानुनद्वारा नै गरिन्छ । तथापि समाजमा आपराधिक घटनाहरू घट्न नदिन र अपराधीलाई कानुनको परिधिमा ल्याउन नागरिकस्तरबाट सहयोग आवश्यक पर्छ । 

अपराध नियन्त्रणमा नागरिकको भूमिका

अपराध नियन्त्रणको प्रमुख दायित्व सरकारसँग रहेता पनि नागरिकको सहयोगले अपराध नियन्त्रणमा महìवपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ । यस सम्बन्धमा नागरिकको भूमिका देहायबमोजिम हुन सक्छ ।

कानुन परिपालना, अरूप्रति सम्मान प्रकट, मानव अधिकारप्रति संवेदनशील हुनेलगायतका नागरिक कर्तव्य पालना गर्ने,

आफ्नो समुदाय र समाजको हितका लागि स्वयंसेवी काम गर्ने,

समाजमा आपराधिक घटना हुन नदिन कानुनी सचेतना फैलाउने,

अपराध हुनुपूर्व र अपराधपश्चात्का महìवपूर्ण सूचनाहरू प्रहरी प्रशासनलाई उपलब्ध गराउने,

अपराध अनुसन्धानमा प्रहरी सङ्गठनलाई सहयोग गर्ने, अवरोध नगर्ने,

सरकारीवादी फौजदारी मुद्दामा साछीको रूपमा सरकारलाई सहयोग गर्ने,

अपराध अनुसन्धानमा प्रहरी सङ्गठनप्रति विश्वास गर्ने, 

समुदाय प्रहरी कार्यक्रम तथा प्रहरी सङ्गठनबाट सञ्चालित अभियानमूलक कार्यक्रममा सहभागी भई प्रहरीलाई सहयोग गर्ने,

अपराध नियन्त्रणसम्बन्धी नीतिगत र कानुनी सुधारका लागि सुझाव दिने तथा वहस पैरवी गर्ने,

अन्त्यमा नागरिकलाई बिनाबर्दीका प्रहरी पनि भनिन्छ । अपराधको सूचना प्रदान, अनुसन्धान र अभियोजनमा सहयोग, कानुनको परिपालना, कानुनी सचेतना अभिवृद्धि, समुदायको सुरक्षाका लागि स्वयंसेवी कार्यमा सहभागितालगायतका कार्य गरी आम नागरिकले समाजमा अपराध नियन्त्रण र न्यूनीकरण गर्न सहयोग गर्न सक्छन् ।


५. बैङ्किङ कसुर भनेको के हो ? बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ ले निर्धारण गरेका प्रमुख कसुरहरूको सूची तयार गर्नुहोस् ।

बैङ्किङ तथा वित्तीय प्रणालीको कारोबारमा हुने गैरकानुनी कार्यलाई बैङ्किङ् कसुर भनिन्छ । यस्ता कार्यबाट व्यक्ति, सङ्गठन र सिङ्गो वित्तीय प्रणालीलाई नोक्सानी पुग्ने भएकाले कानुनद्वारा कसुर परिभाषित गरी सजाय निर्धारण गरिएको छ । नेपालको कानुनले बैङ्किङ कसुरजन्य मुद्दालाई नेपाल सरकारवादी हुने फौजदारी मुद्दाको रूपमा स्वीकार गरेको छ ।

बैङ्किङ कसुरहरू

बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ ले व्यवस्था गरे अनुसार प्रमुख बैङ्किङ कसूर यस प्रकार छन् ।

अनधिकृत रूपमा खाता खोल्ने वा भुक्तानी माग गर्ने कार्य,

अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने कार्य,

विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिने वा दिने कार्य,

अनधिकृत रूपमा कर्जा लिने वा दिने कार्य,

कर्जाको दुरुपयोग गर्ने कार्य,

बैङ्किङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्ने कार्य,

ऋणीको चालु परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्ने कार्य,

कागजात वा खाता बही सच्याइ कीर्ते वा जालसाझी गरी हानिनोक्सानी पु¥याउने कार्य,

बैङ्क वा वित्तीय संस्थालाई झुक्यानमा पारी वित्तीय कारोबार गर्ने कार्य,

बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय विवरण तयार गर्ने कार्य,

अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउने कार्य,

ढुकुटीको कारोबार गर्ने कार्य, 

सहकारी संस्था वा सङ्घले गैरकानुनी रूपमा बैङ्किङ कारोबार गर्ने कार्य,

अन्त्यमा बैङ्किङ कसुरले मुलुकको बैङ्क तथा वित्तीय संस्थाप्रतिको विश्वास कमजोर तुल्याउने, बैङ्किङ तथा वित्तीय प्रणालीमा जोखिम थप्ने तथा नागरिकको जनजीविका र मुलुकको अर्थतन्त्रसमेत प्रभावित हुने भएकाले यसको निवारणका लागि आमनागरिकमा बैङ्किङ कसुर र सजायसम्बन्धी कानुनी साक्षरता अभिवृद्धि गर्नु आवश्यक छ । साथै बैङ्किङ कसुरको अनुसन्धान र अभियोजन कार्यलाई प्रभावकारी बनाई यस्ता कसुर न्यूनीकरण गर्न सम्बद्ध पक्ष जिम्मेवार बन्नु पर्छ ।


६. ग्राहक पहिचान भनेको के हो ? स्पष्ट पार्दै उच्चपदस्थ व्यक्तिको पहिचान तथा बृहत् ग्राहक पहिचान सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले गरेको व्यवस्था उल्लेख गर्नुहोस् ।

  सूचक संस्थाले आफ्ना ग्राहकहरूको आर्थिक, सामाजिक, नैतिक, पारिवारिक तथा कानुनी हैसियत जनाउने विवरण लिखित रूपले सङ्कलन गरी ग्राहकको विस्तृत जानकारी हासिल गर्ने कार्यलाई ग्राहक पहिचान भनिन्छ । यो सूचक संस्थाले आफ्ना ग्राहकको विवरण लिखित रूपमा अभिलेखीकरण गर्ने कार्य हो । सम्पत्ति शुद्धीकरण निवारण ऐनले सूचक संस्थाहरूले आफ्ना ग्राहक पहिचान गर्नुपर्ने विषयलाई अनिवार्य गरेको छ ।उच्च पदस्थ व्यक्तिको पहिचान र बृहत् ग्राहक पहिचान गर्ने सम्बन्धमा ऐनले गरेको व्यवस्था यस प्रकार छ ।

क) उच्च पदस्थ व्यक्तिको पहिचानसम्बन्धी व्यवस्था

आफ्नो ग्राहक वा वास्तविक धनी वा ग्राहक बन्न खोज्ने व्यक्ति उच्च पदस्थ भए नभएको यकीन गर्न जोखिम व्यवस्थापन प्रणालीको व्यवस्था गर्ने,

उच्च पदस्थ व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा सूचक संस्थाको व्यवस्थापन हेर्ने उच्च अधिकारीको स्वीकृति लिने,

विद्यमान ग्राहक उच्च पदस्थ व्यक्ति भएको थाहा हुन आएमा पनि तत्काल सूचक संस्थाको उच्च अधिकारीको स्वीकृति लिने,

ग्राहक वा वास्तविक धनीको सम्पत्ति वा कोषको स्रोत पहिचान गर्न पर्याप्त उपाय अवलम्बन गर्ने,

ग्राहक वा निजसँगको व्यावसायिक सम्बन्ध 

वा कारोबारको सम्बन्धमा निरन्तर रूपमा अनुगमन गर्ने,

बृहत् ग्राहक पहिचानसम्बन्धी उपाय अवलम्बन गर्ने,

ख) बृहत् ग्राहक पहिचान गर्नुपर्ने अवस्था

सूचक संस्थाले देहायका व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा वा कारोबार गर्दा बृहत् ग्राहक पहिचानसम्बन्धी उपयुक्त उपायहरू अवलम्बन गर्नु पर्छ ।

जोखिम मूल्याङ्कनबाट उच्च जोखिमयुक्त देखिएको ग्राहक,

आर्थिक वा कानुन उद्देश्य स्पष्ट नदेखिने जटिल, ठुलो वा अस्वाभाविक प्रवृत्तिको कारोबार गर्ने ग्राहक,

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पालना नगर्ने वा आंशिक रूपमा मात्र पालना गर्ने भनी अन्तराष्ट्रिय रूपमा पहिचान भएको मुलुकको ग्राहक,

उच्चपदस्थ व्यक्ति र त्यस्तो व्यक्तिको परिवारको सदस्य तथा निजसँग सम्बद्ध व्यक्ति वा ग्राहक,

उच्च जोखिमयुक्त नयाँ उपकरण वा सेवा प्रयोग गर्ने ग्राहक,

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कसुर वा अन्य कुनै कसुरमा शङ्का लागेको ग्राहक,

नियमनकारी निकायले तोकिदिएका ग्राहक ।

अन्त्यमा सम्पत्ति शुद्धीकरण निवारणका लागि ग्राहक पहिचान गर्ने कार्यलाई एक महत्वपूर्ण कदमको रूपमा लिइन्छ । ग्राहक पहिचान सम्बन्धमा सूचक संस्थाहरू जिम्मेवार हुनुपर्ने मान्यता ऐनले लिएको छ । सम्पत्ति शुद्धीकरण निरवारण गर्ने सम्बन्धमा उच्चपदस्थको पहिचान गर्ने र सोका लागि बृहत् ग्राहक पहिचानका उपायसमेत अवलम्बन गर्न सकिने गरी कानुनले मार्ग खुला गरेको पाइन्छ । सूचक संस्थाले माथि उल्लिखित ग्राहकको बृहत् ग्राहक पहिचान गर्दा नियमनकारी निकायले निर्धारण गरेका थप उपायहरूसमेत अपनाउनु पर्छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा