• १० कात्तिक २०८१, शनिबार

तोकिएभन्दा बढी मूल्य नलिन सिनेमा सञ्चालकलाई निर्देशन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ७ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी मूल्य लिनेलाई कारबाही गर्ने भएको छ । 

विभागमा महानिर्देशक राजन पोखरेलको नेतृत्वमा सोमबार नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग छलफल गर्दै सिनेमा हल परिसरमा बिक्री गर्न राखिएका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने जानकारी गराएको छ । यदि त्यसरी बढी मूल्य लिएमा कानुन अनुसार कारबाही हुने चेतावनी पनि दिएको छ । 

सिनेमा हेर्न जानेलाई बाहिरबाट पानी र खानेकुरा लग्न नपाइने र भित्र किन्दा बाहिर पर्ने मूल्यभन्दा दोब्बरभन्दा बढी हुने गरेको गुनासोका आधारमा विभागले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग त्यसरी छलफल गरेको हो । 

विभागका अनुगमन शाखाका निर्देशक डिकबहादुर कार्कीले अबदेखि सिनेमा हल सञ्चालकले प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने गरी नेपाल चलचित्र सङ्घमातहतका हललाई पत्राचार गर्न लिखित निर्देशन दिएको जानकारी दिनुभयो । “एक/दुई दिनपछि सिनेमा हलमा गएर मूल्यका विषयमा छड्के अनुगमन गर्छौं, कार्यान्वयन नभएमा कानुन अनुसार कारबाही हुन्छ,” उहाँले भन्नुभयो, “कानुन अनुसार बढी मूल्य लिनेलाई तीन लाख रुपियाँसम्म जरिबाना र एक वर्ष कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।”

 विभागका अनुसार विभागले पछिल्लो पटक प्याकेजिङ गरेका वस्तुको बढी मूल्य लिने होटल, रेस्टुराँ, सिनेमालक्षित अनुगमन गर्दै आएको छ । सिनेमा हल परिसरभित्र रहेका क्याफे, अधिकांश ठुला वा नाम चलेका होटल मात्रै होइन साना होटलमै पनि सर्भिस भन्दै प्याकेजिङ गरेका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिने गरेका छन् । अब जुनसुकै ठाउँ चाहे होटल होस् चाहे सिनेमा हल प्याकेजिङ गरेका वस्तु (प्रशोधित बोतल वाटर, अन्य खानेकुरा) मा तोकिएको मूल्यभन्दा बढी लिएमा कारबाही हुन्छ ।