• ११ मंसिर २०८१, मङ्गलबार

सरकारी वेबसाइटमा एकरूपता ल्याउने तयारी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, कात्तिक ७ गते । सरकारले सबै सरकारी कार्यालयका वेबसाइट समान प्रकृतिका बनाउने भएको छ । सरकारी विभिन्न निकायका वेबसाइट फरक फरक हुँदा वेबसाइटमा एकरूपता नभएपछि सरकारले वेबसाइटलाई एकरूपता कायम गर्न लागेको हो । 

सिंहदरबारमा बसेको मन्त्रालयका सचिवहरूको बैठकले सरकारी कार्यालयको वेबसाइटलाई एकै खालको बनाउँदै अद्यावधिक गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास गरी प्रयोगमा ल्याएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीलाई सबै सरकारी निकायले प्रयोग गर्ने निर्णय बैठकले गरेको हो । 

बैठकले सरकारी इमेलको प्रयोग एवं सुरक्षाका लागि एकीकृत सरकारी इमेल प्रणालीमा हाल देखिएका समस्या समाधान गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि गर्नुपर्ने काम र रणनीतिका सम्बन्धमा सुझाव दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव संयोजक रहेको कार्यदल गठन गरेको छ भने कार्यदलमा सञ्चार मन्त्रालयको सूचना प्रविधि महाशाखाका प्रमुख र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रतिनिधि सदस्य र सूचना प्रविधि विभागका महानिर्देशकलाई सदस्य सचिव तोकिएको छ ।