• १० कात्तिक २०८१, शनिबार

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी जोशीको बयान रुपन्देहीमा

blog

बयानपछि छविलाल जोशीलाई कार्यालयबाट निकाल्दै प्रहरी। तस्बिर: श्यामशंकर पाण्डे

श्यामशंकर पाण्डे

लुम्बिनी, कार्तिक ६ गते । सहकारी ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी एवं गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशीलाई रुपन्देहीको भैरहवास्थित जिल्ला सरकारी वकिल कार्यालयमा मंगलबार साढे ७ घण्टा बयान लिइएको छ।

सोमबार एक बजे पोखराबाट भैरहवा ल्याइएका जोशीलाई सोमबार प्रारम्भिक सोधपुछ गरिएको थियो। मंगलबार दिनभर बयान गरिएको हो। जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय भैरहवाका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत यमलाल बन्जाडेलगायतले बयान लिएका हुन्। 

जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेलले पीडितको जाहेरी र संसदीय छानबिन समितिले दिएको निर्देशन अनुसार बयान लिने काम भएको बताउनुभयो।

उहाँका अनुसार जोशीमाथि लागेका आरोपबारे ५७ वटा प्रश्न सोधिएको थियो। तत्कालका लागि जोशीजीको बयान सकिएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा जोशी पक्राउ परेका थिए। 

सुप्रिम सहकारी ठगीमा पनि जोडिएका उनलाई बयानका लागि यहाँ ल्याइएको हो। जोशीको दुई दिन लगाएर बयान गरिएको हो। रुपन्देहीमा सुप्रिम सहकारीमा ठगी आरोपमा अहिलेसम्म अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। 

जोशीको सरकारी वकिल कार्यालयमा बयान चलिरहँदा सहकारी पीडितहरूले रुपन्देही जिल्ला अदालत अगाडि विरोध प्रदर्शन गरेका थिए। सुप्रिम पीडित सङ्घर्ष समितिमार्फत विरोध प्रदर्शन गरिएको हो। सहकारी पीडित बुटवल–१३ निवासी जमुना सुवेदीले दुःख गरेर जम्मा गरेको पैसा शक्तिशालीले खाएर आफूहरूलाई सडकमा पुर्‍याएको बताउनुभयो।