• १० कात्तिक २०८१, शनिबार

पार्टी एकीकरणको हल्ला निराधार हो: पूर्व प्रधानमन्त्री नेपाल

blog

पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत ।

कमल खत्री

धम्बोझी, कात्तिक ६ गते। नेकपा एकीकृत समाजवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी एकीकरणको हल्ला निराधार भएको बताउनुभएको छ। नेकपा एकीकृत समाजवादी कोहलपुर नगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपालले अन्य पार्टीसँगको एकीकरण र समाहित हुने भन्ने हल्ला निराधार भएको बताउनु भयो। उहाँले आगामी चुनाव एक्लै लड्ने गरी तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभएको छ। 

पार्टीको सङ्गठन विस्तार एवम् कार्यकर्तालाई प्रशिक्षण गर्दै देश दौडाहामा रहनुभएका अध्यक्ष नेपालले बाढी–पहिरोपछि नागरिकलाई अनुभूत हुने गरी सरकारले काम गर्न नसकिरहेको टिप्पणी गर्नुभयो। उहाँले सरकारका क्रियाकलापमा अधिनायकवाद देखिएको जिकिर गर्नुभयो। कोहलपुर नगर कमिटी कार्यालयमा नगर इन्चार्ज विष्णु पोख्रेलले अध्यक्ष नेपाललाई स्वागत गर्नु भएको थियो। 

नेकपा एकीकृत समाजवादी पार्टी जनताको भएकोले जनताको बिचमै रहेर जनताको समस्या साथमा लिई सधैँ समाधानको पक्षमा अघि बढ्ने नेपालले बताउनुभयो।