• १० मंसिर २०८१, सोमबार

रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी

blog

संयुक्त राष्ट्रसङ्घ, कात्तिक ६ गते । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउँदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको दाबी “आधारहीन’’ भएको दाबी गर्नुभएको छ । 

सियोलको जासुसी एजेन्सीले शुक्रबार प्योङयाङले रुसलाई सहयोग गर्ने सेना तैनाथ गरेको तथा एक हजार ५०० सेना रुसमा प्रशिक्षण गराइरहेको जनाएको थियो । 

उहाँले रुससँगको सैन्य सहयोगको आधारहीन विषयमा आफ्नो प्रतिनिधिमण्डलले प्रतिक्रिया दिन आवश्यक महसुस नगरेको संयुक्त राष्ट्रसङ्घीय महासभा समितिको बैठकमा बताउनुभएको छ ।  

सियोलको दाबी उत्तर कोरियाको छवि बिगार्ने तथा सार्वभौम राज्यहरू बिचको मैत्रीपूर्ण र सहयोगी सम्बन्धलाई कमजोर पार्ने उद्देश्यले गरिएको उहाँले बैठकमा उल्लेख गर्नुभएको छ । 

विश्वयुद्धपछि उत्तर कोरियाको स्थापना भएदेखि नै प्योङयाङ र मस्को सहयोगी रहँदै आएको र सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अझ नजिक भई लामो समयदेखि किम जोङ–अनले रुसमा हतियार पठाउँदै आएको दाबी सियोल र वासिङ्टनले गर्दै आएका छन् ।

उत्तर कोरियाले भने उक्त सैन्य तैनातीबारे कुनै टिप्पणी गरेको छैन भने रुसले पनि सेना तैनाथ भएको पुष्टि गरेको छैन । यद्यपि  नेटो र अमेरिकाले पनि सेना  तैनातीको पुष्टि गरेको छैन, तर दुवैले यसलाई लामो समयदेखि चलिरहेको युक्रेन द्वन्द्वमा सम्भावित खतरा वृद्धिको रूपमा लिएका छन् ।

उत्तर कोरियाले सेना पठाउने तयारी गरिरहेको रिपोर्टहरू आफूले देखेको सुरक्षा परिषद्लाई बताउँदै यो विषय सत्य भएमा यसले चिन्ताजनक स्थितिको सङ्केत गर्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी दूत रोबर्ट वुडले बताउनुभयो । सेनालाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै दक्षिण कोरियाली सरकारले उत्तर कोरियाको निन्दासमेत गरेको छ ।

उत्तर कोरियाले युक्रेनमा रुसको अवैध आक्रमणका लागि सेना पठाउनु आफ्नो देशका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायका लागिसमेत सुरक्षा खतरा भएको हो सुरक्षा परिषद्ले जनाएको छ ।

दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले सरकारी स्रोतलाई उद्धृत गर्दै सियोलले युक्रेनमा तैनाथ उत्तर कोरियाली सेनाको निगरानी गर्न कर्मचारीको टोली पठाउने तयारी गरिरहेको जनाएको छ । योन्हापले रुस समर्थक टेलिग्राममा युक्रेनी भूमिमा रुसी र उत्तर कोरियाली झन्डा देखाउँदै फोटो पोष्ट गरेकोसमेत रिपोर्ट गरेको छ । रासस/एएफपी