• ५ कात्तिक २०८१, सोमबार

सुनसान गाउँघर

blog

दसैँ सकिएसँगै परिवारका सदस्यहरू सहर फर्किएपछि सुनसान बनेको गाउँको एक घर । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक
ताप्लेजुङ, कात्तिक ५ गते । 
हिन्दुहरूको महान् चाड दसैँ सकिएसँगै अहिले ताप्लेजुङका गाउँघर सुनसान हुन थालेका छन् । व्यवसाय, रोजगार लगायतका काममा संलग्नहरू आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर सुनसान हुँदै गएको हो ।

व्यवसाय, रोजगार तथा विभिन्न कामले बजार वा अन्यत्र रहँदै आएकाहरू गाउँ फर्किएपछि दसैँ अवधिभर गाउँघरमा निकै चहलपहल बढेको थियो । दसैँ सकिएपछि गाउँ आएकाहरू पुनः बजार फर्किनाले अहिले गाउँघर सुनसान हुन थालेको हो ।

ताप्लेजुङको ग्रामीण क्षेत्रका अधिकांश स्थानीय सदरमुकाम फुङ्लिङ, काठमाडौँ, धरान, विराटनगरलगायतका सहरमा गएर बस्ने गर्दछन् ।

जागिरसँगै विभिन्न कामको सिलसिलामा गाउँ छोड्ने क्रमले हिजोआज गाउँमा बस्नेको सङ्ख्या निकै न्यून रहने गरेको छ । लामो समयसम्म टाढा आफन्त वा परिवारका सदस्य गाउँ आएपछि चाडपर्व निकै रमाइलो पनि हुने गर्दछ । दसैँ सुरु भएपछि गाउँघर आएका आफन्तले केही दिन रमाइलो भए पनि उनीहरू बजारतर्फ फर्किन थालेपछि सुनसान बन्न थालेको सिदिङ्वा गाउँपालिका–४ का स्थानीय अमरबहादुर लिम्बूले बताउनुभयो ।

लिम्बूकाअनुसार परिवारका अधिकांश सदस्य सेवा सुविधा खोज्दै बजार वा सहर केन्द्रित भई दिँदा गाउँमा बुढापाका र साना बालबालिका मात्रै रहेका छन् । सरकारी जागिरमा संलग्न भएकाले खटाएको ठाउँमा जानै पर्ने उहाँ बताउनुहुन्छ । जागिरमा संलग्न नभएकाहरूले गाउँमा रोजगारको राम्रो अवसर र सेवा सुविधा नहुँदा धेरैले सहर बजार र सुविधा सम्पन्न ठाउँ खोज्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

जागिर र अन्य कामका सिलसिलामा अधिकांश गाउँ बाहिर रहेर चाडपर्वका समयमा आए पनि चाड सकिएपछि फर्किनुपर्ने अवस्थाले गाउँघर सुनसान हुने गरेको छ । गाउँघर बाहिर रहेकाहरू दसैँ सकिएपछि आ–आफ्नो गन्तव्यतिर लागेपछि गाउँ उराठलाग्दो ने बनेको फक्ताङ्लुङ गाउँपालिका–४ का वसन्त लिम्बूले बताउनुभयो ।

लिम्बूकाअनुसार जागिर तथा रोजगार गर्नेले गाउँ छोडी सकेका र सहरमा बसेर अध्ययन गर्ने केही विद्यार्थी मात्र अहिले गाउँमा रहेका छन् । विद्यार्थीको भने तिहारपछि मात्र विद्यालय र क्याम्पसहरू खुल्ने भएकाले हाल उनीहरू गाउँमा भएका उहाँले जानकारी दिनुभयो । तिहारपछि भने गाउँघर पुरै शून्य हुने स्थानीयले बताएका छन् ।