• ५ कात्तिक २०८१, सोमबार

छानबिनका लागि रविलाई पक्राउ गर्नु स्वाभाविक : प्रचण्ड

blog

नेपालगन्ज विमानस्थलमा अध्यक्ष प्रचण्डको स्वागत गर्दै नेताहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, कात्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरिनु स्वाभाविक भएको बताउनुभएको छ ।

सोमवार बिहान नेपालगन्ज विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । प्रतिवेदनले सिफारिस गरेका अन्य दोषी भनिएकाहरूलाई पनि छानबिनका लागि सरकारले पक्राउ गर्नुपर्ने उहाँको भनाइ छ । 

वर्तमान अवस्थामा देखिएका विभिन्न विषयलाई समेटेर माओवादी केन्द्र लगायतका प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । सोमबार बेलुका प्रतिपक्षी दलले विभिन्न माग राखी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने उहाँले स्पष्ट पार्नुभयो । 

लामिछानेको बारेमा अदालतले निर्णय गर्ने र लामिछाने स्वयंले अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यसलाई सहज रूपमा लिनुपर्ने प्रचण्डले बताउनुभयो । 

यसअघि कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, पूर्व उपसभामुख पूर्णाकुमारी सुवेदी, माओवादी केन्द्र स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वर गहतराज, लुम्बिनी प्रदेशका पूर्वमन्त्री नमुना केसी, माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे र नवीन शर्मा लगायत नेताहरूले नेपालगन्ज विमानस्थलमा पूर्व प्रधानमन्त्री प्रचण्डको स्वागत गर्नुभएको थियो ।