• ५ कात्तिक २०८१, सोमबार

अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’

blog

काठमाडौँ, कात्तिक ५ गते । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।

यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो । 

टस जितेर पहिले  ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो । 

नेपालको लागि ओपनर आसिफ शेखले अर्धशतक बनाउनुभयो । उहाँले ३८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा ५० रन बनाउनुभएको हो ।

कुशल मल्लले अविजित ४४, कुशल भुर्तेलले अविजित ४० र ओपनर अनिल शाहले १३ रन बनाउनुभयो । बलिङमा अमेरिकाका जुनोय ड्रेसडाले र जसदीप सिंहले एक एक विकेट लिनुभयो । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेकिाका लागि ओपनर साइटेजा मुकामल्लले ५१ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ६८ रन बनाउनुभयो । मिलिन्द कुमारले ४५ बलमा चार चौकासहित अविजित ४३ रन, एरोन जोन्सले १३ र हरमित सिंहले अविजित १० रन बनाउनुभयो । 

बलिङमा नेपालका नेपालका सोमपाल कामीले तीन विकेट लिनुभयो । रिजन ढकाल र ललित राजवंशीले एक एक विकेट झार्नुभयो । नेपालका आशिफ प्लेयर अफ दि म्याच र सोमपाल कामी प्लेयर अफ दि सिरिज हुनुभयो । 

आइसिसी एक दिवसीय विश्वकप लिग–२ सिरिज खेल्न अमेरिका पुगेको नेपाली टोलीले सिरिजअघि अमेरिकासँग तीन वटा टी–२० क्रिकेट खेलेको हो । 

टी–२० सिरिज पछि अब आइसिसी एक दिवसीय विश्वकप लिग–२ कात्तिक ९ देखि १९ गतेसम्म हुनेछ । टेक्सासस्थित ग्रान्ड पिएरे मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजमा आयोजक अमेरिका, नेपाल र स्कटल्यान्ड रहेको छ ।

लिग–२ को सिरिजमा नेपालको पहिलो खेल कात्तिक ११ गते अमेरिकासँग तथा दोस्रो खेल कात्तिक १३ गते स्कटल्यान्डसँग, नेपालले तेस्रो खेलमा कात्तिक १७ गते अमेरिकासँग र चौथो तथा अन्तिम खेलमा कात्तिक १९ गते स्कटल्यान्डसँग खेल्नेछ । 

नेपाल यसअघि क्यानडामा भएको लिग–२ कै क्यानडा, नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिज खेलेर अमेरिका गएको हो ।