• ५ कात्तिक २०८१, सोमबार

एउटै मापदण्डबाट सडक विस्तार गर्न आग्रह

blog

उर्लाबारी समाचारदाता

उर्लाबारी, कात्तिक ५ गते । पूर्वपश्चिम राजमार्ग विस्तार आयोजना अन्तर्गत मोरङको पथरी बजार खण्डमा सडक चार लेनको मात्र बन्ने विषय उठेपछि पथरी शनिश्चरेवासीले एउटै मापदण्ड तय गरी सडक विस्तार गर्न आग्रह गरेका छन् ।

एसियन हाइवेले मोरङका उर्लाबारी, पथरी शनिश्चरे, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचा नगरपालिकालाई छुन्छ । यसमध्ये पथरीशनिश्चरे खण्डको खानेपानी उत्तरदेखि डाँसखोलासम्मको अढाई किलोमिटर सडक चार लेनको मात्र बन्ने विषय चर्चामा आएपछि स्थानीय विरोधमा उत्रिएका हुन् । शनिबार पथरी उद्योग वाणिज्य सङ्घको आह्वानमा भएको सर्वपक्षीय छलफलमा पूर्वको उर्लाबारी र पश्चिमका कानेपोखरी, बेलबारी र सुन्दरहरैँचामा जुन मापदण्ड अनुसार सडक निर्माण हुन्छ, सोही मापदण्ड अनुसार पथरी शनिश्चरे खण्डमा सडक बन्नुपर्ने माग गरेका छन् । सडक विस्तार आयोजनाले पथरी खण्डमा सडक छ लेनको नै निर्माण गर्ने तर फुटपाथ र नाला नहुने गरी डिपिआर तयार भएको जनाएको छ । काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतिले भन्नुभयो, “पथरीमा मात्र होइन, सुन्दरहरैँचाको गोठगाउँ क्षेत्रमा पनि पथरीको भन्दा कम चौडाइको सडक निर्माण हुन्छ । गोठगाउँमा २४ मिटरभित्र सडक निर्माण हुने प्रजापतिको भनाइ छ । सडकको डिपिआर निर्माण हुँदा जुन मापदण्ड तयार भएको थियो । त्योभन्दा फरक केही हुन्न ।”

पथरीमा पनि २४ मिटरमा चार लेन सडक बन्ने र बाँकी भागमा थप दुई लेन बन्ने उहाँले बताउनुभयो । पथरी खण्डमा केही घर पर्ने भएकाले फुटपाथ र नाला निर्माण नगर्ने गरी डिपिआर तयार भएको हुन सक्ने आयोजना प्रमुख जगत प्रजापतिले बताउनुभयो । 

एडिबीले हेर्ने आयोजना भएकोले सबै कुरा हामीलाई थाहा हुन्न तर हामीले बुझेसम्म आयोजनालाई असर पुग्ने गरी माग थपिँदै गए भने समयमा काम सम्पन्न गर्न गाह्रो छ । उहाँले डिजाइन परिवर्तनको प्रव्रिmया सहज नभएको बताउँदै फिलिपिन्सको राजधानी मनिलाले आयोजना हेरिरहेकाले प्रव्रिmयागत अप्ठ्यारा रहेको जानकारी दिनुभयो ।

नेकपा (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका पथरीका स्थानीय बासिन्दा युवराज बाँस्कोटाले छिमेकी पालिकाभन्दा साँघुरो सडक पथरी शनिश्चरे बासिन्दाको आवश्यकता नभएको बताउनुभयो । उहाँले उर्लाबारी र कानेपोखरीमा जुन मापदण्ड अनुसार सडक बन्छ । सोही अनुसार पथरीमा सडक निर्माण हुनुपर्ने बताउनुभयो । उहाँले नाला र फुटपाथबिनाको छ लेनको सडक निर्माण हुँदा पथरीको विकास ५० वर्ष पछि धकेलिने बताउनुभयो ।

नेपाली कांग्रेस पथरीशनिश्चरे नगर समितिका सभापति रूपनारायण भट्टराईले खानेपानी उत्तरका केही घर बचाउनुपर्ने भएकाले सडकमा फुटपाथ र नाला निर्माण नगर्ने गरी नक्सा निर्माण भएको हुन सक्ने बताउनुभयो । २०५१ सालमा खानेपानी संस्था दर्ता हुँदा खानेपानीले उत्तरतर्फ केही जग्गा छोडर कम्पाउन्ड वाल (पर्खाल) लगाएको थियो । पछि सो जग्गामा केही परिवार आएर बसोबास गरे । उहाँले बाहिर देखिएको समस्या तिनै घर भएको बताउँदै प्राविधिक विषयमा जानकारी नभएको बताउनुभयो ।

पथरी शनिश्चरे–१ का वडाध्यक्ष भीमकुमार राईले पथरी खण्डमा फुटपाथ र नाला नभएको भन्ने विषय उठान भएपछि वडाको समेत ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले अन्य पालिकामा जुन मापदण्ड अनुसार सडक बन्छ, पथरी शनिश्चरेमा पनि सोही मापदण्ड अनुसार सडक बन्नुपर्ने बताउनुभयो । उहाँले प्राविधिक विषय भएकाले सम्बन्धित क्षेत्रका विज्ञसँग परामर्श गरी समस्याको समाधान खोजिने बताउनुभयो । एसियन हाइवेले पथरी शनिश्चरे नगरपालिकाका तीन वटा वडा छुन्छ । जसमध्ये वडा नं. १० र १ मा विवाद भएको छ ।