• १० मंसिर २०८१, सोमबार

मुलुक पुनरुत्थानको नयाँ मार्ग

blog

नेपालको गौरवपूर्ण इतिहास, समृद्ध सनातन संस्कृति, र सभ्यता एक समय संसारभर चर्चित थिए । हाम्रो देशले विभिन्न कालखण्डमा अद्वितीय पहिचान बनाएको छ । विशेष गरी लिच्छविकाल नेपालको इतिहासमा सुनौलो अध्यायका रूपमा मानिन्छ, जहाँ राजनीतिक, आर्थिक र सांस्कृतिक उन्नतिको युग थियो ।

नेपालको गौरवमय इतिहास

नेपालको इतिहास गौरवमय छ, जसले गर्दा संसारभर यसको सांस्कृतिक पहिचान स्थापित छ । लिच्छवि र मल्लकालीन नेपाल यस क्षेत्रमा त्यस बेलाको प्रमुख आर्थिक र सांस्कृतिक केन्द्र थियो । लिच्छविकालीन समयमा नेपालको भोट (तिब्बत) सँगको व्यापार सम्बन्ध निकै समृद्ध थियो । विशेष गरी सातौँ शताब्दीमा राजा अंशुवर्माको पालामा नेपालले भोटसँग ठुलो मात्रामा सुन, ऊन, र नुनको व्यापार गर्दै आएको थियो । त्यस बेलाका राजाहरूले काठमाडौँ उपत्यकामा मात्रै नभई सम्पूर्ण हिमालय क्षेत्रमा आफ्नो प्रभाव जमाएका थिए । लिच्छवि राजाहरूले नेपाललाई एक सम्पन्न र सांस्कृतिक केन्द्र बनाएका थिए । समृद्ध अर्थतन्त्र, कृषि उत्पादनको विकास र व्यापारिक मार्गको नियन्त्रणले नेपालको अर्थतन्त्रलाई बलियो बनाएको थियो । चीन र भारतको बिचमा रहेको नेपाल व्यापारिक मार्गका रूपमा रणनीतिक रूपमा महìवपूर्ण थियो । त्यस बेलामा नेपालले भोट र चीनसँगको व्यापारिक मार्गलाई मात्रै प्रयोग गरेको थिएन, बरु तिब्बतको सांस्कृतिक विकासमा पनि ठुलो भूमिका खेलेको थियो ।

समृद्ध नेपाली सनातन संस्कृति र सभ्यता

नेपालको सनातन सभ्यता र विविधतायुक्त संस्कृति विश्वमै विशिष्ट र समृद्ध मानिन्छ । हाम्रा चाडपर्व, परम्परागत चालचलन र धार्मिक परम्पराले हाम्रो सभ्यतालाई विश्वसामु गौरवान्वित तुल्याउँछ । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ र लुम्बिनी जस्ता सांस्कृतिक सम्पदाले नेपाललाई धार्मिक पर्यटनको केन्द्र बनाएको छ । हामीले आफ्नो परम्परागत धर्म, मौलिक भाषा, र सांस्कृतिक धरोहरलाई जोगाउँदै आएका थियौँ, जसले हाम्रा पुर्खाको पहिचानलाई बलियो बनाएको थियो ।

विगतदेखि वर्तमानसम्म नेपालको कला र शिल्पले दुनियाँलाई मोहित बनाउँदै आएको छ । विगतमा काष्ठकला, धातुकला, मूर्तिकलाले नेपाली समाजमा सांस्कृतिक वैभव फैलाएको थियो । प्राचीन नेपालका यी सांस्कृतिक खजाना मात्रै हाम्रो गौरवको प्रतीक होइनन्, बरु तिनले हाम्रो समाजको नैतिक मूल्य र सदाचारलाई पनि निर्देशित गर्थे । समयको परिवर्तनसँगै हामीले यी सम्पदाहरूप्रति बेवास्ता गर्न थालेका छौँ ।

आन्तरिक कमजोरी 

नेपालले आज विभिन्न कारणले उन्नतिको बाटो पक्रन सकेको छैन । यो यात्रा केवल बाह्य कारणको परिणाम होइन, बरु आन्तरिक कमजोरी, हिनताबोध, र आयातित विचारप्रतिको आकर्षणले यो स्थितिलाई थप बल पु¥याएको छ । अब ती प्रमुख कारणको विश्लेषण गर्ने छौँ, जसले मुलुकलाई कमजोर बनाउन सहयोगी भूमिका निर्वाह ग¥यो । 

क. आयातित संस्कृतिको प्रवेश

नेपालको समाजमा आजको ठुलो समस्या भनेको आफ्नो संस्कार, संस्कृति, र सभ्यतालाई कमजोर ठान्नु हो । हामीमा एक प्रकारको हीनताबोधी मानसिकता विकसित भएको छ, जसले गर्दा हामीले आफ्नै भाषा, परम्परा, र जीवनशैलीप्रति सम्मान गुमाएका छौँ । फलस्वरूप, हामी पश्चिमी वा अन्य विदेशी मुलुकका विचार, पहिरन र जीवनशैलीको नक्कल गर्दै छौँ । यो नक्कल गर्ने मानसिकताले मुलुकलाई अझै परनिर्भर बनाइरहेको छ ।

सांस्कृतिक धरोहरप्रति हीनताबोध राख्नु भनेको मुलुकको आत्मसम्मान गुमाउनु हो । उदाहरणका लागि, नेपालमा अहिले धेरै युवा अङ्ग्रेजी भाषा र पहिरनलाई सामाजिक प्रतिष्ठाको प्रतीक मान्छन् । आफ्नै संस्कृति र भाषालाई कमजोर ठान्ने सोचले आत्मबल घटाउने र रचनात्मक क्षमतालाई थप कमजोर बनाउने खतरा हुन्छ ।

ख. अध्यात्मको अपमान 

अध्यात्मलाई अन्धविश्वास ठान्ने, सदाचारलाई मुख्र्याइँ मान्ने र अनुशासनलाई अराजकतामा परिणत गर्ने सोचाइले नैतिक मूल्यहरूमा गिरावट आएको छ । हाम्रो समाजमा आज अनुशासन र नैतिकतामा रहने विषयलाई गौण ठान्न थालिएको छ । युवा पुस्ताले नैतिकता भनेको अरूलाई देखाउन, सुनाउनका लागि हो भनेर बुझ्न थालेको छ । फलस्वरूप, हामी र हाम्रो समाजले भ्रष्टाचारलाई सामान्य मान्न थालेको छ । शोषण गरेर, ठगेर वा जसरी भए पनि टन्न सम्पत्ति थुपार्नुलाई सफलताको मार्ग ठानेका छौँ ।

सदाचारलाई मूर्खता ठान्ने संस्कृतिले समाजलाई नै गलत दिशा दिइरहेको छ । उदाहरणका लागि, सरकारी, सार्वजनिक निकायमा हुने भ्रष्टाचारको दर उच्च रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार, नेपाल सन् २०२३ मा विश्वको भ्रष्टाचार सूचकाङ्कमा ३३ अङ्कसहित ११७ औँ स्थानमा छ । यसले देखाउँछ कि भ्रष्टाचारले हाम्रो व्यवस्थामा कति गहिरो जरा गाडिसकेको छ ।

ग. परनिर्भरता र स्वदेशी क्षमताको अवमूल्यन

नेपालमा एक प्रमुख समस्या भनेको आर्थिक र सामाजिक आत्मनिर्भरता गुमाउँदै जानु पनि हो । हामीले आफ्नो श्रम, सिप र ज्ञानको कदर गर्न सकेनौँ । आत्मनिर्भरताको बाटो छाडी बाह्य सहयोग मागेर मात्रै देश समृद्ध हुँदैन भन्ने कुरा बुझ्न नसक्दा हामी अझै परनिर्भर हुँदै गइरहेका छौँ ।

स्वदेशी उत्पादनको अवमूल्यन गर्दै विदेशी सामानप्रति आकर्षित हुनु हाम्रो आत्मनिर्भरतालाई घटाउने प्रमुख कारण बनेको छ । उदाहरणका लागि, नेपालले सन् २०२२/२३ मा १४ खर्ब रुपियाँभन्दा बढीको सामान आयात गरेको थियो, जसले व्यापार घाटालाई १० खर्ब रुपियाँसम्म पु¥यायो । यो तथ्यले स्पष्ट देखाउँछ कि आयातमा निर्भर मुलुकको भविष्य कसरी जर्जर हुँदै छ ।

घ. शिक्षा प्रणालीमा खोट र बढ्दो युवा पलायन

नेपालको शिक्षा प्रणाली आजको प्रमुख चुनौती हो । शिक्षा प्रणालीले केवल डिग्रीको प्रमाणपत्र बाँड्दै आएको छ तर सिप र श्रमप्रतिको सम्मान सिकाउन असफल प्रायः भएको छ । यसले गर्दा युवा जनशक्ति विदेश पलायन भइरहेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार, सन् २०२२÷२३ मा झन्डै नौ लाखभन्दा बढी युवा श्रमका लागि बिदेसिएका छन् । उच्चशिक्षा अध्ययनका लागि स्वदेश छाड्नेहरूको तथ्याङ्क झनै कहालीलाग्दो छ । यसरी युवा बिदेसिनुको प्रमुख कारण भनेको मुलुकभित्र अवसरको अभाव र अन्यायपूर्ण व्यवस्था हो । युवामा आफ्नो उन्नयनका लागि जसरी जे गरेर भए पनि देश छाड्नै पर्छ भन्ने मानसिकता विकास भइसकेको छ । केही गरेर विदेश जान नसकेका युवामा हीनताबोधले ग्रसित हुने मनोविज्ञानको विकास हुने गरेको देखिन्छ । युवा वर्गलाई मुलुकभित्र राख्नका लागि शिक्षा प्रणालीमा सुधार, रोजगारीको सिर्जना, उद्यमशीलता प्रवर्धन र मुलुकभित्रै सिपयुक्त अवसर प्रदान गर्नु पर्छ ।

ङ. समाजको विचार र मूल्यप्रतिको विकृति

समाजमा शिक्षा, स्वास्थ्य, नैतिकता, सदाचार, खुसी जस्ता आधारभूत मूल्यलाई ओझेलमा पार्दै तुरुन्त उपलब्ध हुने भौतिक सम्पत्ति र क्षणिक तुष्टिलाई मात्र प्राथमिकता दिनु गलत हो । यसले समाजलाई आत्महीन, खोक्रो बनाउँदै लैजान्छ भने स्वयम् व्यक्तिलाई दुःखी बनाउँछ ।

समाधानका उपाय

आत्मसम्मान र सांस्कृतिक पुनरुत्थान : पहिलो चरणमा, हामीले हाम्रो आध्यात्मिक विचार, सदाचार संस्कृति, रैथाने भाषा, सनातन सभ्यता, सामाजिक सहिष्णुता र सांस्कृतिक सुपरम्पराप्रति आत्मसम्मान पुनस्र्थापित गर्नु पर्छ । नेपाली हुन, नेपाली बोल्न, नेपालीपन र नेपाली मन झल्काउनमा गौरवबोध गर्न सक्ने अनुकूल वातारण सिर्जना गरिनु पर्छ । शिक्षा प्रणालीमा पनि स्वदेशी सभ्यता, मौलिक शिल्प र समृद्ध परम्पराको महìवलाई आत्मसात् गर्दै आधुनिक विज्ञान र प्रविधिसँग जोड्नु पर्छ ।

सिप विकास र रोजगारीको सिर्जना : युवा वर्गलाई मुलुकभित्रै रोकेर उनीहरूलाई आधुनिक सिप र प्रविधियुक्त बनाई उद्यमशीलता प्रवर्धन गर्न अति आवश्यक छ । यसका लागि सबै तहका सरकारले सिपमूलक कार्यक्रम, स्वदेशी उद्योगधन्दामा लगानी र संरक्षण अनि थप विदेशी लगानी आकर्षण, श्रम संस्कृतिको सम्मान, व्यावसायमैत्री वातावरण निर्माण र थप रोजगारी सिर्जनामा ध्यान दिनु पर्छ ।

भ्रष्टाचार नियन्त्रण : समाजमा सदाचार संस्कृतिको प्रवर्धन, नैतिक मूल्यको उन्नयन र भ्रष्टाचारलाई कानुनी रूपमा नियन्त्रण गर्न सकिएमा मात्र मुलुकको राजनीतिक स्थिरता कायम भई आर्थिक स्थिति सुदृढ हुँदै जाने छ र सुशासन सम्भव हुने छ । जसका लागि समाज र सरकारका सबै संरचनामा पारदर्शिता, जवाफदेहिता, र कडा कानुनी कदम चाल्न आवश्यक छ ।

आत्मनिर्भर अर्थतन्त्रको विकास : विदेशी आयातमा निर्भरता घटाएर स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी स्वदेशी वस्तु तथा सेवाको प्रयोगमा पुनर्जागरण ल्याउन सम्भव भएसम्म सरकारी स्तरमा स्वदेशी सामानको प्रयोगलाई जोड दिनु पर्छ । यसका लागि नवप्रवर्तन, उद्यमशीलता प्रवर्धन गर्ने स्टार्ट हपलाई प्रोत्साहनसहित स्थानीय स्तरमा उत्पादन वृद्धि, गुणस्तरको सुनिश्चितता, स्वदेशी उद्योगहरूको विकास, विस्तार र प्रवर्धनमा ध्यान दिन जरुरी छ ।

निष्कर्ष

हीनताबोध, आयातित विचार र पहिरनको अन्धाधुन्ध नक्कल, श्रमप्रति अनादर, भ्रष्टाचारको मौलिकता, शिक्षा प्रणालीको कमजोरी, बढ्दो युवा पलायन, र समाजको बदलिँदो प्रकृति जस्ता समस्या आजको नेपाली समाजको यथार्थ हो । युवाको बढ्दो पलायनको मुख्य कारण अवसरको अभाव र देशभित्रको बेथितिप्रतिको विकर्षण हो । यी सबै मुद्दाले एउटा मात्र कारणलाई सम्बोधन गर्दैनन्, बरु यी आपसमा जटिल रूपमा जडित समस्या हुन् । मुलुकको आर्थिक, सांस्कृतिक, र सामाजिक क्षेत्रमा देखिएका परिवर्तनका बारेमा गहिरो छलफल गरी सुधारको खाँचो छ ।

आन्तरिक कमजोरी, शिक्षा प्रणालीमा भएको खोट, बढ्दो युवा पलायन, र परनिर्भरता नै मुलुक कमजोर हुनुको प्रमुख कारण हो । अब हामीले सांस्कृतिक र सामाजिक पुनरुत्थानको दिशामा लाग्नुपर्ने भएको छ । मुलुकको भविष्य बदल्नका लागि शिक्षामा सुधार, श्रमप्रतिको सम्मान र इमानदारिताको पुनस्र्थापना अत्यावश्यक छ । आत्मनिर्भरता, श्रमप्रतिको सम्मान, सदाचार र सामाजका नैतिक मूल्यहरूको पुनरुत्थान गर्न सकिएमा मात्र नेपाली समाजलाई पुनर्जीवित गर्न सकिन्छ । ‘यो समय पनि बितेर जाने छ’ भन्ने आशावादी उक्तिलाई आत्मसात् गर्दै सुधारको सुरुवात गर्नु अत्यावश्यक भएसकेको छ । जसको सुरुवात म, तपाईं र हामीबाट आजैदेखि हुन जरुरी छ ।

Author

तीर्थराज चापागाईं