• ३ कात्तिक २०८१, शनिबार

गाउँपालिकामार्फत दुध बिक्री

blog

मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको साना किसान सहकारीमा किसानको दुध सङ्कलन हुँदै। तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, कात्तिक ३ गते। मकवानपुरमा गाउँपालिका मार्फत दूध बिक्री थालिएको छ। मकवानपुरको मनहरी गाउँपालिकाका दुध उत्पादक किसानको दुध शुक्रबारबाट गाउँपालिका कार्यालय मार्फत बिक्री थालिएको हो।  पालिकामा रहेका छ वटा दुग्ध सहकारी मार्फत ९ वटै वडामा किसानले उत्पादन गरेको दुध सङ्कलन गरी पालिका मार्फत दुध बिक्री थालिएको छ। यहाँ सहकारी संस्थामा दैनिक सात हजार लिटर दुध सङ्कलन हुँदै आएको छ। 

पालिकाको एक नम्बर वडामा क्षितिज दुग्ध उत्पादक सहकारी संस्था, तीन नम्बर वडामा चुरियामाई महिला जीवन वातावरण स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था, नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्था र साना किसान सहकारी संस्था, सात र आठ नम्बर वडा कार्य क्षेत्र भएको साना किसान सहकारी तथा छ नम्बर वडामा संयुक्त जनजागृति दुग्ध उत्पादक सहकारी संस्था हुन। 

मनहरीका किसानले यसअघि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ, मकवानपुरलाई दुध बिक्री गर्दै आएकोमा अब पालिका मार्फत दुध बिक्री गर्न थालिएको छ। जिल्ला सङ्घले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान र निजी दुग्ध उद्योगलाई दूध बिक्री गर्दै आएको थियो।

गाउँपालिकाले हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा अवस्थित हेटौँडा डेरी इण्डष्ट्रिज प्रालिसँग दुध खरिदबिक्रीका लागि सम्झौता गरेको छ। सम्झौतामा दुधको गुणस्तरअनुसार मूल्य निर्धारण गरेर भुक्तानीको व्यवस्था गर्ने, भुक्तानीमा ढिलाइ भएमा उद्योग पक्षले तिर्नुपर्ने जरिवानालगायतको विषय समेटिएको छ। गाउँपालिकाले कृषकलाई दुध बिक्री बापतको भुक्तानी १५–१५ दिनमा गर्ने सुनिश्चितता पनि गरेको छ। 

जिल्ला सङ्घबाट दुध बिक्री गर्दा भुक्तानी लामो समयसम्म रोकिएको गुनासोपछि गाउँपालिकाले आफैँ किसानबाट उत्पादित दुधको जिम्मा लिएको मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले बताउनुभयो। 

किसानलाई भुक्तानी हुन ढिला भएको अवस्थामा पनि पालिकाले नै जिम्मा लिएर भुक्तानी दिने व्यवस्था मिलाएको बताउँदै पछि शोधभर्ना हुनेगरि काम गरिएको उहाँको भनाइ छ।  उहाँले स्थानीय सरकारको प्रत्याभूत दिलाउने गरी जनताका लागि काम गर्ने गरेको बताउनुभयो। 

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले दुध उत्पादन गरेर नै जीविकोपार्जन गरिरहनुभएका किसानले समयमै भुक्तानी नपाउँदा धेरै समस्या भएकाले किसानका लागि आफूहरू लागिपरेको बताउनुभयो। दुध उत्पादन गर्ने किसानले समयमै भुक्तानी नपाउँदा यो पेसा नै छाड्नुपर्ने बाध्यता आइपरेकाले किसानलाई प्रोत्साहन गर्न समयमै भुक्तानी पाउने वातावरणको सिर्जना गरेको बताउनुभयो। 

मनहरीका ६ वटा दुग्ध सहकारीमा एक हजार चार सयजना दुग्ध उत्पादक किसान आबद्ध रहेको गाउँपालिकाले जनाएको छ। गत आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कअनुसार यी ६ वटा सहकारीबाट वार्षिक २१ लाख ६५ हजार ६ सय ७ लिटर दुध उत्पादन भएको थियो। पालिकाले नै दूधको भुक्तानी समयमै गरिदिने भएपछि यहाँका दुग्ध उत्पादक किसान खुसी भएका छन्।