• ३ कात्तिक २०८१, शनिबार

कर्मामा विपिनको एक्सन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३ गते । चलचित्र कर्माको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित हुनुभएको छ । चलचित्रको घोषणा कार्यक्रममा विपिन कार्कीको तस्बिरसहितको पोस्टर सार्वजनिक गरिएको थियो । चलचित्र कर्माको निर्देशन सौरभ चौधरीले गर्दै हुनुहुन्छ । निर्देशक चौधरीको यो तेस्रो निर्देशन हो । यस चलचित्रमा कथासमेत निर्देशक चौधरीकै छ ।

चलचित्रमा एक्सन र ड्रामाको स्वाद दर्शकले पाउन सक्ने छन् । निर्देशक चौधरीका अनुसार यस चलचित्रमा अभिनेता विपिनलाई एक्सन भूमिकामा देख्न पाइने छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने कर्मामा वसन्त लम्सालको लगानी रहने जनाइएको छ ।

चलचित्रको छायाङ्कन मङ्सिर दोस्रो सातापछि सुरु हुने निर्माणपक्षले जानकारी दिएको छ । चलचित्रमा अन्य कलाकारको समेत छनोट हुँदै गरेको निर्माण पक्षले जनाएको छ ।