• ३ कात्तिक २०८१, शनिबार

विपत्मा मनपरी भाडा असुल

blog

सिन्धुली समाचारदाता

सिन्धुली, कात्तिक ३ गते । बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुसँग विपत्को मौका छोपी यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका छन् । असोज महिनाको दोस्रो सातामा गएको बाढीपहिरोका कारण बिपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डमा भत्किएको १२ किलोमिटर सडकलाई देखाउँदै यातायात व्यवसायीले दोब्बरसम्म भाडा असुल्ने गरेको यात्रुको गुनासो छ ।

यात्रुहरूका अनुसार रोसी खोलाको बाढीले बिपी राजमार्गको उक्त खण्डमा धेरै जसो ठाउँमा जगसहित भत्काएपछि हाल अस्थायी ट्र्याक सडक निर्माण गरी यातायात एकतर्फी सञ्चालन गरिएको छ । सडक साँघुरो भएको र यातायातका साधनको चापले गर्दा धेरै समयसम्म सवारीसाधन जाममा पर्दा यात्रा अस्तव्यस्त छ ।

सोही निहुँ बनाएर व्यवसायीले मनपरी ढङ्गले बढी भाडा असुल्न सुरु गरेको उक्त राजमार्ग हुँदै सिन्धुली आउनुभएका कमलामाई नगरपालिका–७ निवासी सुजन आलेमगरले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “यसअघि सिन्धुलीदेखि काठमाडौँसम्मको भाडा आठ सय रुपियाँ थियो, उनीहरूले पनि त्यति नै लिन्थे । अहिले मैले एक हजार पाँच सय रुपियाँ तिरेर आएँ ।” काउन्टरमा टिकट काट्न जाँदा टिकट नदिने र गाडीमै भाडा दिनु भनेर खाना अथवा खाजा खाने बेलामा बिच बाटोमा मनपरी जबरजस्ती असुल्ने गरेको उहाँको गुनासो छ । यसअघि पनि दसैँतिहारका बेला यातायात व्यवसायीले मनपरी भाडा लिएर ब्रह्मलुट नै मच्चाउने यात्रुको गुनासो छ ।

यता यातायात व्यवसायीले यात्रुसँग मनपरी भाडा लिन थोलेको गुनासो बढेपछि प्रहरीले पनि बिपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधनमाथि ‘सर्च’ अभियान सुरु गरेको छ । सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले सर्च अभियान चलाएर त्यस्ता गाडीबाट बढी लिएको भाडा असुल गरी सम्बन्धित यात्रुलाई फिर्ता गर्न सुरु गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिहीबार मात्रै नौ वटा गाडी जाँच गर्दा ८७ जना यात्रुबाट ३३ हजार नौ सय रुपियाँ बढी भाडा लिएको पाइयो । त्यो रकम असुल गरी सम्बन्धित यात्रुलाई फिर्ता गरेका छौँ ।”

बढी भाडा लिने गाडीलाई सुरुमा पाँच सय रुपियाँ जरिबाना गरी सम्झाइबुझाई छाडेको उहाँले जानकारी दिनुभयो । “फेरि पनि उक्त कार्य दोहो¥याएमा पटकेमा परी पाँच सय रुपियाँ थपिँदै दुई हजार रुपियाँसम्म जरिबानाको व्यवस्था छ,” उहाँले थप्नुभयो, “त्योभन्दा माथि यातायात व्यवसायीलाई कैदसम्मको सजाय गर्ने कानुनमा व्यवस्था छ । व्यवसायीले दोब्बरभन्दा बढी भाडा लिएको गुनासो यात्रुबाट आइरहेको छ ।”

यात्रुलाई ठग्न नदिन ठाउँ ठाउँमा गाडी रोकेर जाँच गर्ने, सम्झाइबुझाई काम भइरहेको र भाडा परिमार्जन गर्नुपर्ने भए बसेर छलफल गरौँ भनेर व्यवसायीलाई भनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता यातायात व्यवसायी भने चाडबाडमा एकतर्फी मात्र यात्रु बोक्नुपर्ने भएकाले बाध्य भएर केही रकम बढी लिनु परेको बताउँछन् ।