• ३ कात्तिक २०८१, शनिबार

स्वास्थ्य स्वयंसेविकालाई यातायात सेवा निःशुल्क

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ३ गते ।  महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायात निःशुल्क चढ्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको समन्वय र संवादमा यातायात व्यवसायीले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायातका साधनमा भाडा नलिने घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मन्त्री पौडेलको उपस्थितिमा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क सार्वजनिक यातायात प्रयोग गर्न पाउने गरी शुक्रबार समझदारी भएको छ । सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने छन् । यसका लागि महिला स्वास्थ्य स्वयंसेविकाले पोसाक लगाउनुपर्ने वा परिचयपत्र बोकेको हुनु पर्छ । 

स्वास्थ्यमन्त्री पौडेलले महिला स्वास्थ्य स्वयंसेविकालाई कामका सिलसिलामा हुने यातायात निःशुल्क गरिदिन आग्रह गर्नुभएको थियो । उहाँको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घ सहमत भएपछि समझदारी भएको हो । कात्तिक १५ गतेदेखि उक्त व्यवस्था लागु गर्न मन्त्री पौडेलको आग्रहमा यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले सहमति जनाउनुभयो । 

मन्त्री पौडेलले भन्नुभयो, “महिला स्वास्थ्य स्वयंसेविकाले देशको स्वास्थ्य क्षेत्रमा पुर्‍याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्वपूर्ण छ । आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यातायात महासङ्घप्रति आभार व्यक्त गर्दछु ।” महासङ्घका अध्यक्ष स्वाँरले मन्त्री पौडेलले विगतदेखि नै निःशुल्क सुविधाका लागि आग्रह गरेकाले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत सुविधा उपलब्ध गराउने बताउनुभयो । 

महिला स्वास्थ्य स्वयंसेविकाको छाता संस्थाकी अध्यक्ष वसन्ती महर्जनले कामको सिलसिलामा सार्वजनिक यातायात निःशुल्क प्रयोग गर्न पाउनु महत्वपूर्ण भएको बताउनुभयो ।