• २ कात्तिक २०८१, शुक्रबार

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

blog

फाइल तस्बिर

फ्रान्स, कात्तिक २ गते । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारवहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा एक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन् ।

अधिकारीका अनुसार डुङ्गा फ्रान्सेली सहर विसान्टमा दुर्घटना भएको थियो भने उद्धारकर्मीले अन्य ६५ जनालाई सकुशल उद्धार गरेका छन् ।

पछिल्लो डुङ्गा दुर्घटनासँगै यस वर्ष च्यानल पार गर्ने प्रयास गर्दा ज्यान गुमाउने आप्रवासीको सङ्ख्या कम्तीमा ५२ पुगेको छ । सन् २०१८ पछिको सबैभन्दा धेरै रेकर्ड हो । 

उक्त स्थानमा गत सेप्टेम्बर ३ मा पाँच जना बालबालिका र पाँच जना वयस्कको मृत्यु भएको स्रोतले जनाएको छ ।  त्यसको एक महिनापछि सामुद्रिक च्यानलको मार्ग हुँदै जोखिमपूर्ण यात्राका क्रममा ओभरलोड भएका डुङ्गा दुर्घटनामा पर्दा  एक जना  बालक तथा तीन वयस्कको मृत्यु भएको जनाइएको छ । 

बेलायतको सरकारी तथ्याङ्कअनुसार यस वर्ष आप्रवासी डुङ्गामा खतरनाक यात्रा गरी बेलायत पुग्ने आप्रवासीको औसत सङ्ख्या ५३ छ ।

बेलायतको गृह मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्ष जनवरी १ देखि हालसम्म २६ हजारभन्दा बढी आप्रवासी समुद्र पार गरी बेलायती तटमा आइपुगेका छन् । रासस/एएफपी