• १० मंसिर २०८१, सोमबार

चाडपर्वमा शरणार्थी शिविरमा दुःख धेरै

blog

शरणार्थी क्याम्प बेलडाँगी। तस्बिरः विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, कार्तिक २ गते। वरपरका बस्तीमा चाडपर्वमा रमाइलो चलिरहँदा पूर्वी नेपालको झापा र मोरङ जिल्लाका दुई वटा शरणार्थी शिविरमा रहेका शरणार्थीमा भने निराशा छाएको छ। साढे तीन दशक अघिदेखि शिविरमा बस्दै आएका शरणार्थी पारिवारिक विखण्डनका कारण दसैँ लगायतका चाडपर्वमा निराश बन्ने गरेका छन्।

दमकको बेलडाँगी शिविर र मोरङका पथरी शिविरमा आठ हजारभन्दा बढी शरणार्थी अहिले पनि बसोबास गर्दै आएका छन्। एक लाखभन्दा बढी शरणार्थी अमेरिका, बेलायत लगायतका देशमा पुगेका छन्। शिविरमा धेरैजसो ज्येष्ठ नागरिक, फरक क्षमता भएका तथा अशक्त बसिरहेका छन्। 

‘दसैँ लगायतका चाडपर्व देशमा गएर मनाउने धोको ठुलो छ तर अहिलेसम्म यो अवसर अनिश्चित झै बनेको छ’, भुटान राष्ट्रिय मेलमिलाप केन्द्रका अध्यक्ष कृष्णवीर तामाङले भन्नुभयो। तेस्राे देश पुनर्वास नहुँदा र परिवार विखण्डन नहुँदासम्म शिविरमा चाडपर्वको रौनक आउने भए पनि अहिले त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ।

‘एउटै परिवारको सदस्य एउटा अमेरिका, अर्को क्यानडा गएको छ अनि अशक्त उसका बाबुआमा शिविरमा रहेका छन्’, उहाँले भन्नुभयो। चाडपर्व आउँदा शिविरको छाप्रोमा रोएर बिताउनुको विकल्प छैन।’ ३३ वर्ष अघिदेखि आफूहरु घर फर्केर चाडपर्व मनाउने प्रतीक्षामा रहेको उहाँले बताउनुभयो। 

३३ वर्षअघि देश छाडेर राष्ट्रियता तथा घरबारविहीन भएका शरणार्थी शिविरमा बस्ने धेरै वृद्धवृद्धाले दसैँमा टीका नलगाएको उहाँको भनाइ छ। ‘देश छाड्नुको पीडा एकातिर छ अर्कातिर परिवार नै छिन्नभिन्न भएपछि थप पीडा थपिएको छ’, उहाँले भन्नुभयो, ‘कुनै पनि चाडपर्व नआए हुन्थ्यो भन्ने लाग्छ तर आइहाल्छ।’ 

शरणार्थी बस्तीकी धनमाया मगरले आफ्नै घर फर्केर निधारभर रातोटीका लगाएर हिँड्न धेरै नै मन भएको बताउनुभयो। भुटानी शरणार्थी बस्ती व्यवस्थापन समितिका सचिव सन्चहाङ्ग सुब्बाका अनुसार शिविरमा अभिभावकविहीन रहेका बालबालबालिका तथा वृद्धवृद्धालाई चाडपर्वले धेरै पिरोल्ने गरेको छ। ठुला चाडपर्व आउँदा शिविरमा रहेका शरणार्थी दुःखी बन्ने गरेको उहाँको भनाइ छ।