• २ कात्तिक २०८१, शुक्रबार

चिकित्सक हडतालमा, बिरामी मर्कामा

blog

अस्पतालमा कार्यरत करारका चिकित्सक तथा कर्मचारीहरु बैठक बस्दै । तस्बिर : नागेन्द्रकुमार कर्ण

नागेन्द्रकुमार कर्ण
महोत्तरी, कात्तिक २ गते ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।

बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीलाई म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगरेपछि बिरामीहरु मर्कामा परेका हुन् ।

एकातर्फ प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरुले साउन महिनादेखि तलब नपाएको भन्दै हडतालको तयारीमा थिए भने अर्कोतर्फ करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।

अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् भने असजिलो महसुस गरेका बिरामीहरुले इमर्जेन्सीमा परीक्षण गरेका थिए । 

चिकित्सकहरु ओपिडीमा नबस्दा बच्चा लिएर आएका  हाडसम्बन्धी, गाइनोसम्बन्धी चेकजाँचका लागि आएका बिरामीहरु निराश देखिएका थिए ।

हडतालमा उत्रिनुभएका अस्थायी करारका चिकित्सक डा.कृष्णा पंजियारले एकातर्फ साउन महिनादेखि आफुहरुले नियुक्ति तथा तलब पाएका छैनौं भने अर्कोतर्फ अस्पताल प्रशासनले कामकाजका लागि म्याद थप्न नसकिने गरी सूचना प्रकाशन गरेपछि आफूहरु अन्याेलमा रहेको बताउनुभयो ।

उहाँले ओपिडीमा चेकजाँच नभए पनि इमर्जेन्सी सञ्चालनमा कुनै बाधा नरहेको जानकारी दिनुभयो ।

अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनकपुरधामको मिति २०८१/६/४ गतेको पत्र (मिति २०८१/६/२ गतेको मन्त्रिस्तरीय निर्णय) को आधारमा २०८१ साउन १ गतेदेखि बढीमा तीन महिनाका लागि म्याद थप गर्ने, तर मन्त्रालयको स्वीकृति बिना २०८१ कात्तिक १ गतेदेखि म्याद थप नगर्ने पत्रानुसार अस्पताल प्रशासनसँग म्याद थप गर्ने कानुनी आधार नरहेकाले तपाईहरुको करार म्याद हाललाई थप गर्न नसकिने गरी सूचना प्रकाशन गरेको छ ।

सूचनामा म्याद थप नहुञ्जेलसम्म तलब भत्ता दाबी नगर्ने शर्तमा हाल करारमा कामकाज गरिरहेका करार सेवाका कर्मचारीहरुले अस्पतालको नियम, कानुन र नियमितता पालना गर्ने गरी आफ्नो पदको कामकाज गर्न इच्छुक भए कामकाज गर्नका लागि यस अस्पतालको कर्मचारी प्रशासन शाखामा निवेदन दिन उल्लेख गरिएको छ ।

अस्पतालमा कार्यरत करारका चिकित्सक र कर्मचारीहरुको शुक्रबार बसेको बैठकबाट यस विषयमा थप स्पष्टता माग गरिएको तथा तीन दिनभित्र स्पष्ट जानकारी प्राप्त नभए बैठक बसेर थप आन्दोलन गर्ने चेतावनी करारका चिकित्सक र कर्मचारीहरुले दिएका छन् ।