• २ कात्तिक २०८१, शुक्रबार

जर्मन चान्सलर स्कोल्ज र एर्दोगानबिच आप्रवासी समस्याबारे छलफल हुने

blog

जर्मनीका चान्सलर ओलाफ स्कोल्ज ।

इस्तानबुल, कात्तिक २ गते । जर्मनीका चान्सलर ओलाफ स्कोल्ज मध्यपूर्वको बढ्दो सङ्कट र आप्रवासनबारे रेसेप तैयप एर्दोगानसँग वार्तागर्न शनिबार टर्कीको भ्रमण गर्नुहुने भएको छ ।

पदभार ग्रहण गरेको केही महिनापछि सन् २०२२ को मार्चमा अन्तिम पटक टर्कीको भ्रमण गरेका स्कोल्जले इस्तानबुलमा राष्ट्रपति एर्दोगानलाई भेट्नुहुनेछ।गत साता जर्मन अधिकारीहरूले युक्रेन युद्ध, मध्यपूर्वको द्वन्द्व र आप्रवासनलाई भ्रमणको मुख्य केन्द्रबिन्दु बनाउने बताउनुभएको थियो ।

युरोपको सबैभन्दा धेरै प्रवासी रहेको जर्मनीसँग टर्कीएको सम्बन्ध संवेदनशील छ र बर्लिनले एर्दोगानको नेतृत्वमा रहेको मानवअधिकार र लोकतन्त्रको अवस्थाबारे चिन्ता व्यक्त गरेको छ ।

गाजामा इजरायल–हमास युद्ध सुरु भएपछि सम्बन्ध थप तनावपूर्ण बनेको छ ।

एर्दोगान लामो समयदेखि गाजामा इजरायलको एक वर्ष लामो सैन्य अभियान र लेबनानमा इजरायलको घातक धक्काको कडा आलोचक रहँदै आउनुभएको छ । एर्दोगानले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई नाजी जर्मनीका एडोल्फ हिटलरसँग तुलना गर्दै आउनुभएको छ ।

बर्लिन इजरायलको बलियो समर्थक हो र जर्मनीले संयमको लागि आह्वान गर्दै इजरायली आत्मरक्षाको अधिकारको रक्षा गरेको छ । एर्दोगानले गतवर्ष जर्मनीको भ्रमण गर्दा स्कोल्जसँग द्वन्द्वलाई लिएर कडा धारणा राख्नुभएको थियो ।

अमेरिकी थिङ्क ट्याङ्क जर्मन मार्शल फन्डका ओज्गुर अनलुहिसारसिक्लीले एएफपीसँग भन्नुभयो, “स्कोल्जको एजेन्डाको प्रमुख विषय शरणार्थी व्यवस्थापन र सहयोग हुने सम्भावना छ किनभने युरोपभरि शरणार्थी विरोधी भावना बढिरहेको छ ।”

शरण खोज्नेहरूले शृङ्खलाबद्ध हिंसात्मक अपराध र आक्रमणहरू गरेपछि स्कोल्जको सरकार यस मुद्दालाई लिएर चर्को दबाबमा परेको छ । गत महिना बर्लिनले टर्कीका असफल शरणार्थीलाई देशनिकाला गर्ने योजनालाई अघि बढाउने योजनामा अङ्कारासँग सम्झौता गरेको थियो  ।

इस्तानबुलको ओजिगिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डेनिज सर्टले भन्नुभयो, “आप्रवासन एक यस्तो विषय हुन सक्छ जहाँ दुवै राज्यहरू ‘एउटै बिन्दुमा हुनेछन् ।”

उहाँले भन्नुभयो, “दुवैले आफ्नो सीमाभित्र सुव्यवस्था कायम गर्ने अधिकार र दायित्व आफूहरूको रहेको र अनियमित आप्रवासी सुरक्षा खतरा भएको तर्क गर्नेछन् ।” रासस/एएफपी