• २ कात्तिक २०८१, शुक्रबार

पहिरो पीडितलाई राहत

blog

जुगल गापा –१ का पहिरो प्रभावितलाई राहत सामग्री बितरण गरिदै ।

चित्र मिजार

सिन्धुपाल्चोक, कात्तिक २ गते । पहिरोले परिवारका सदस्य गुमाएका र घरजमिन गुमाएका जुगल गाउँपालिका –१ कुनेगाउँका दलित समुदायका पहिरो पीडितलाई राहत सामग्री र नगद वितरण गरिएको छ । 

सामाजिक अगुवा निरोज तोलाङ्गेले पहिरोबाट विस्थापित भएका कुनेगाउँका १२ घरधुरी, मृतक परिवारलाई चामल, दाल, तेल, नुन, चिउरालगायतका दैनिक उपभोग्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । 

साथै पहिरोबाट ज्यान गुमाएका र बेपत्ता भएका जुगल गाउँपालिका –४ का २४ वर्षीय अविनाश नेपाली र ५ वर्षीय बालकको परिवारजनलाई प्रतिपरिवार चार–चार हजार रुपियाँका दरले नगद सहयोग गरिएको छ । 

निरोज तोलाङ्गे र चित्र मिजारको पहलमा प्रशंसा सामाजिक सेवा र चेन्ज फर होप नेपालको आर्थिक सहयोग र आफ्नो एफएमको संयोजनमा उक्त रकम र राहत वितरण गरिएको आफ्नो एफएमका विजय मानन्धरले बताउनुभयो । 

पहिरो प्रभावित चन्द्र बिसुंखेले राहत सामग्री पाउँदा खुशी ब्यक्त गर्दै पहिरोबाट बिस्थापित भएका १२ घरधुरीलाई सरकारले सुरक्षित स्थानमा आवास सुविधासहित स्थानान्तरण गर्न आग्रह गर्नुभयो ।  

गएको असोज १२ गतेको पहिरोले उक्त गाउँका अजय बिसुंखे, अजेय बिसुंखे र सरोज बिसुंखेको घर पूर्ण रुपमा बगाएको थियो । ती घरहरुमा ४५ बर्षीय चित्रबहादुर मिजार, उहाँकी धर्ममत्नी ४५ वर्षीया ठूलीकान्छी मिजार, सोही घरमा पाहुना आएका जुगल गापा –४ का २४ वर्षीय अविनाश नेपाली र एक ५ वर्षे बालकलाई घरसँगै पहिरोले बगाएको थियो । 

त्यसमध्ये ठूलीकान्छी र अविनाशको अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक सन्तोष खड्काले बताउनुभयो ।