• २ कात्तिक २०८१, शुक्रबार

तनहुँमा १७ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

blog

व्यास नगरपालिका-२ गणेशमानचोकमा भिटामिन ए खुवाइँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, कात्तिक २ गते । तनहुँमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउन सुरु गरिएको छ । जिल्लामा भिटामिन ‘ए’ खाने छ देखि ५९ महिना उमेरसम्मका १७ हजार पाँच सय पाँच जना बालबालिका रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधी एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाउने कार्यक्रमा अन्तर्गत तनहुँमा पनि सुरुवात गरिएको हो । 

अधिकारीका अनुसार १५ हजार छ सय ४० जना बालबालिकालाई जुकाको औषधी पनि खुवाइने भएको छ । एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइनेछ । तनहुँ जिल्लामा रहेका १० वटा पालिकामा दुई सय ३० वटा स्वास्थ्य संस्थामा ४ सय ६८ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत खुवाउने काम भइरहेको कार्यालयले जनाएको छ ।

६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।