• २ कात्तिक २०८१, शुक्रबार

भूकम्पपीडितको दसैँ

टहराभित्र उम्रेनन् जमरा

blog

भूकम्पले भत्काएको घरअगाडि नातिनातिनीका साथ वृद्धा ।

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २ गते  । दसैँ आएपछि घर लिपपोत गर्ने, नयाँ कपडा किन्ने, खसीबोका ल्याउने, मिठोमसिनो ल्याउने, पकाउने काम हुन्थ्यो । गाउँघरमा पिङ खेल्ने, नाचगान गर्ने, खेलकुदका कार्यक्रममा सहभागी हुनेलगायतका गतिविधिले गाउँको दसैँ उल्लासमय हुन्थ्यो तर यस पटकको दसैँमा रुकुमपश्चिम र जाजरकोटका अधिकांश भूकम्पपीडितका बस्तीमा खासै चाडबाडको खुसी र उमङ्ग देखिएन । 

गत वर्ष तिहार नआउँदै जाजरकोट केन्द्रविन्दु भएर आएको भूकम्पले ठुलो मानवीय र भौतिक क्षति पु¥यायो । दुवै जिल्लामा भूकम्पमा परी १५४ जनाको ज्यान गयो, करिब ७५ हजार परिवार प्रभावित भए । कुनै घर सग्ला रहेनन् । विक्षिप्त मन अझै लयमा फर्कन सकेको छैन । परिवारका सदस्य गुमाएकाले शोकका कारण यस वर्षको दसैँ मनाएनन् । घरबास भत्केर टहरामा आश्रय लिएकाले पनि दसैँका लागि जमरासम्म राख्न नसकेको बताएका छन् । 

आठबिसकोट नगरपालिका–११, फारुलागाउँका नरबहादुर खड्काले आफ्नो संयुक्त परिवार टहराभित्र कोचिएर बस्नु परेकाले जमरा राख्नसम्म नसकिएको बताउनुभयो । खड्काले दुःखेसो पोख्नुभयो, “अस्थायी टहरामा कसरी दसैँ मनाउनु जस्तो भयो । टहराभित्र कोचिएर बस्नु परेको छ, कहाँ जमरा राख्नु ? हाम्रो दसैँ त रित्तो भयो, खल्लो भयो । टहराभित्र राखेका जमरा पनि उम्रिन पाएनन् ।” भूकम्पपछि बनाएको टहरो पहिराले भत्काएपछि वर्षायाम त्रिपालमुनि बिताएको उहाँको परिवारले फेरि जसोतसो टहरो जोडेको छ । 

सानीभेरी गाउँपालिका–२, चाइनाबगरस्थित माइतीघर आउनुभएकी अमृता पुनले भूकम्पले चाडबाडको सबै रौनक मेटाइदिएको बताउनुभयो । भूकम्पमा परेर जेठो दाइ, भाउजू र सानो दाइको छोरा गुमाएको स्मरण गर्दै अमृताले माइती उजाडेको भूकम्पले घर र आँगनसमेत पाइला टेक्न नमिल्ने बनाएको बताउनुभयो । साँघुरो टिनको टहरामा आएर माइती भेट्नबाहेक गाउँमा चाडबाडको प्रभाव नरहेको उहाँको अनुभव छ । भूकम्पपीडितले करिब एक वर्षदेखि सास्तीपूर्वक दिनरात बिताउनुपरेको गुनासो गरेका छन् । स्थायी आवास नबन्दासम्म दसैँ आउनु र नआउनुमा फरक नभएको पीडितको भनाइ छ । 

भूकम्पले सबैभन्दा बढी प्रभावित बनेको यहाँको आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले यस वर्षको दसैँ उल्लासमय हुन नसकेको बताउनुभयो । भूकम्पको पीडामाथि बाढी पहिरोसमेतले पीडा थपेकाले मनमा उमङ्ग भरेर पीडितले दसैँ मनाउन नसकेको उहाँको भनाइ छ । कतिपयले घरमा जमरासम्म राख्न नसकेको नगरप्रमुख केसीले उल्लेख गर्नुभयो । 

चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले आफ्नो परिवारले पनि टहरामै खाँदिएर दसैँ मनाउन बाध्य भएको जनाउनुभयो । सुरुका तीन महिना त्रिपालमा गुजारेको र त्यसपछि टहरामा नै सबै परिवार बस्नु परेको उहाँको भनाइ छ । घरसँग मनसमेत जोडिएको हुनाले घरबास गुमाएकाले यस पटक विगतका वर्षमा जसरी खुसीका साथ दसैँ मनाउन नसकेको उहाँले बताउनुभयो । 

गत वर्षको तिहारको मुखमा आएको विपत्तिले त्यसयताका हरेक चाडपर्वको रमझम खोसिदिएको छ । अधिकांशले टहरामा जमरा नै नराखेकाले दसैँ आएर गएको जस्तो नै नलागेको बताएका छन् । 

आठबिसकोट नगरपालिका–१३ का रमेश मल्लले टिनले बेरेको एउटै कोठामा सिङ्गो परिवार खाने, सुत्नेदेखि घरका सबै सामग्री थन्काउने गरेको बताउनुभयो । उहाँले स्थायी घर बनेपछि खुसीका साथ चाडपर्व मनाउन सकिने उल्लेख गर्नुभयो । सरकारले भने अझैसम्म पुनर्निर्माणका लागि कार्यविधि नै टुङ्ग्याउन नसकेको बताइएको छ ।