• २ कात्तिक २०८१, शुक्रबार

झरनामुनि डोजरले खोतल्दै

blog

डोजरले झरनाको फेदबाट ढुङ्गा निकाल्दा बिग्रिएको स्वरूप । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता

बैतडी, कात्तिक २ गते । जिल्लामा जथाभाबी डोजर चलाएर ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन गर्ने प्रवृत्ति रोकिन सकेको छैन । यहाँको एक झरनाको फेदमै डोजर चलाएर ढुङ्गा, गिट्टी निकाल्दा झरनाको स्वरूप बिग्रिएको छ । 

पाटन नगरपालिका–५ को जोलगाडा र द्वाँ–कुलडा गाउँका खोला मिसिएर पाटन–पञ्चेश्वर सडकखण्डको करिब २० मिटरभित्रसम्म आइपुग्ने झरना डोजरका कारण सङ्कटमा परेको छ । डोजरले सडक निर्माण गर्दा छेउछाउको वनसमेत मासिँदै जाँदा पानीको स्रोत घट्न थालेको छ । झरनामुनि डोजर चलाएर ढुङ्गा, गिट्टी निकाल्दा सरोकारवाला निकाय भने मौन बसेका छन् । 

नगरपालिकाले जथाभाबी ढुङ्गा निकाल्न प्रतिबन्ध लगाएको बताए पनि ठेकेदारले लुकीछिपी ढुङ्गा निकाल्दै आइरहेका छन् । झरनामुनिबाट ढुङ्गा, गिट्टी निकाल्नेलाई सचेत गराएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहोराले दाबी गर्नुभयो । यद्यपि ढुङ्गा निकाल्ने काम रोकिएको छैन । 

झरनाको फेदबाट जथाभाबी ढुङ्गा निकाल्दा तस्बिर खिच्न आउने आन्तरिक पर्यटकलाई असजिलो भएको स्थानीय वीरेन्द्र चन्दले गुनासो गर्नुभयो । उहाँले प्राकृतिक स्रोतको जथाभाबी दोहोन नियन्त्रण हुन नसकेको बताउनुभयो । जिल्लाका १० स्थानीय तहमध्ये सुर्नया नदीले छोएको पाटन नगरपालिका, महाकाली नदीले छोएको दशरथ चन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, सेती नदीले छोएको सिगास गाउँपालिका, चमेलिया नदीले छुने दोगडाकेदार गाउँपालिका र जमाडी नदीको स्रोत भएको पुर्चौडी नगरपालिकामा नदीबाट वार्षिक लाखौँ ट्रक बालुवा, ढुङ्गा र गिट्टी निकालिँदै आएको छ । स्थानीय तहलाई राजस्व तिरेर वैधानिक रूपमा ढुङ्गा, गिट्टी र बालुवा निकाल्न पाइन्छ । 

यद्यपि नदीबाहेकका स्थानबाट अनधिकृत रूपमा ढुङ्गा, गिट्टी र बालुवा उत्खनन हुँदै आएको छ । यसबाहेक मुख्य सडकमार्गका भित्ताबाट समेत ढुङ्गा, गिट्टी निकाल्ने गरिएको छ । झरनामुनि डोजर चलाएर ढुङ्गा, गिट्टी निकालेको विषयमा आवश्यक जाँचबुझ गर्ने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनुभयो । उहाँले ढुङ्गा, गिट्टी र बालुवा उत्खनन नियमन र व्यवस्थापनको अधिकार स्थानीय तहसँग भएकाले आवश्यक समन्वय गरेर अनियन्त्रित दोहन रोक्ने बताउनुभयो ।