• २ कात्तिक २०८१, शुक्रबार

पुल नहुँदा सास्ती

blog

घोराही समाचारदाता

घोराही, कात्तिक २ गते । बङ्गलाचुली गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई खोलामा पुल नहुँदा समस्या हुने गरेको छ । घोराहीको चौघेरा–रामपुर–हाँसीपुर सडक अन्तर्गत घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिका जोड्ने सुगाखोला, बङ्गलाचुली गाउँपालिका वडा नं. ३ र ४ जोड्ने मानाखोला र वडा नं. ८ मा पर्ने अर्जुन खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ । बर्सातको समयमा सडकमा खसेको पहिरोसमेत नहटाउँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ । 

बर्सातको समयमा विद्यालय जाने बालबालिकासँगै कामका लागि आवतजावतसँगै ज्येष्ठ नागरिक, सुत्केरी र बिरामीलाई अस्पताल पुग्न समस्या हुने गरेको बङ्गलाचुली गाउँपालिका–४, गहतेरा निवासी लुमाकान्त डाँगीले बताउनुभयो । खोलामा पक्की पुल, त्यो नभए झोलुङ्गे पुलको व्यवस्था भइदिए स्थानीयलाई सहजता हुने भन्दै डाँगीले भन्नुभयो, “खोलामा पुल नहुँदा स्थानीयले धेरै दुःख पाएका छन् । बिरामी हुँदा ज्यानकै बाजी लगाएर खोला तर्नुपर्ने बाध्यता छ तर जनताको समस्यामा जनप्रतिनिधिको ध्यान छैन ।” 

घोराहीबाट प्रदेश राजधानी भालुवाङ जोड्ने छोटो बाटोसँगै स्थानीयलाई दैनिक उपभोग्य सामान ल्याउन घोराही जाने बाटो भए पनि खोलामा पुल नहुँदा बर्सातमा समस्या हुने गरेको बङ्गलाचुली गाउँपालिका–८ निवासी टीकाराम खत्रीले बताउनुभयो । गाउँपालिका वडा नं. ३, ४, ७ र ८ नम्बरका स्थानीयलाई घोराही बजारसँग जोड्ने मार्गका रूपमा सडक भए पनि खोलामा पुल नहुँदा बर्सातको समयमा गाडी नचल्ने गरेको उहाँले बताउनुभयो । हिउँदमा बस चल्ने गरे पनि बर्सातमा घोराही उपमहानगरपालिका–१, सिमलतारासम्म मात्र बस चल्दा दैनिक उपभोग्य सामानका लागि तीन/चार घण्टा हिँड्नुपर्ने स्थानीयलाई बाध्यता रहेको भन्दै खत्रीले भन्नुभयो, “बाटो भए पनि खोलामा पुल नहुँदा बर्सातको समयमा गाडी चल्न सक्दैनन् । करिब चार/पाँच महिना बोकेरै दैनिक उपभोग्य सामग्री ल्याउनुपर्ने बाध्यता रहेको छ ।” वडा नं. ४ को गहतेरा, गहतेराडाँवर, वडा नं. ३ को मूलाबारी, भेडाबारी, वडा नं. ८ को हासीपुर, कात्तिके, चैते, कोइरालेलगायतका गाउँलाई जोड्दै प्रदेश राजधानी राप्ती गाउँपालिका जोड्ने सडक प्रत्येक वर्ष मर्मत भइरहे पनि खोलामा पुल निर्माण हुन नसकेको माध्यमिक विद्यालय भेडाबारी मूलाबारीका शिक्षकसमेत रहनुभएका खत्रीले बताउनुभयो । 

बर्सातको समयमा खोलामा पानी बढ्दा तर्न नसकेर विद्यार्थीलाई विद्यालय आउन तथा बिरामीलाई स्वास्थ्य चौकी पुग्न समस्या हुने गरेको छ । हिउँदको समयमा जोखिम कम हुने भए पनि बर्सातको समयमा स्थानीयलाई खोला तर्न निकै सकस हुने गरेको छ । पुलका लागि हालसम्म पनि कसैले ध्यान नदिएको बङ्गलाचुली गाउँपालिका–४ का अध्यक्ष डाँसबहादुर डाँगीले बताउनुभयो ।