• २ कात्तिक २०८१, शुक्रबार

नगरपालिकाको फोहोर काली किनारमा

blog

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत बेनी–गलेश्वर सडकको सेतीपहिरोनजिकै बेनी नगरपालिकाद्वारा फालिएको फोहोरको डङ्गुर ।

म्याग्दी समाचारदाता 

म्याग्दी, कात्तिक २ गते । बेनी नगरपालिकाले बजार क्षेत्रमा सङ्कलन गरेको फोहोर व्यवस्थापन गर्ने डम्पिङसाइट व्यवस्थित नहुँदा कालीगण्डकी नदीका जलचरलाई समस्या भएको छ । बेनीबजार तथा नगरपालिकाभित्रको क्षेत्रमा नगरपालिकाले सङ्कलन गर्ने फोहोरलाई उचित ल्यान्डफिल्ड साइट बनाएर व्यवस्थित नगर्दा समस्या भएको हो । कालीगण्डकी नदीमै फोहोर फ्याँक्दा जल तथा वायुप्रदूषण पनि बढेको गुनासो आउने गरेको छ ।

बेनीबजारमा सङ्कलित फोहोर बेनीदेखि दुई किलोमिटर उत्तरतर्फ पवित्र तीर्थस्थल गलेश्वरधामनजिकै विसर्जन गरिँदै आएको छ । २०६२ सालमा म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद श्रेष्ठको पालादेखि फोहोर व्यवस्थापनको काम सुरु गरिएको थियो । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले चार/पाँच वर्ष सङ्घले सञ्चालन गरेपछि फोहोर उठाउने ट्याक्टर तथा उठ्नुपर्ने रकमसहित तत्कालीन अर्थुङ्गे गाविसलाई जिम्मेवारी हस्तान्तरण गरेको बताउनुभयो । 

मुलुक सङ्घीय संरचनामा गएपछि नगरपालिकाको जिम्मेवारीमा आएको उक्त काम व्यवस्थित भने हुन सकेको छैन । सङ्घले फोहोर व्यवस्थापनको काम थालेदेखि नै फोहोरलाई सोही स्थानमा विसर्जन गर्दै आएको थियो । पर्वतको जलजला गाउँपालिका बगरफाँटका बासिन्दाले पटक पटक विरोध गरे पनि त्यसलाई व्यवस्थित गर्ने वा हटाउने कार्य भने हुन सकेको छैन । कालीगण्डकी नदीसँगै जोडिएको फोहोर फाल्ने साइटले कालीगण्डकीलाई समेत दुर्गन्धित बनाउने गरेको बेनी नगरपालिका–८ का पहलबहादुर खत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “धार्मिक महत्वको कालीगण्डकी नदीमै जोडेर फोहोर फाल्दा राम्रो भएकै छैन । मैले धेरै पटक नगरपालिकामै पुगेर धार्मिक महत्वको नदीमा फोहोर फाल्न हुँदैन भनेको छु तर उनीहरूले सुन्दैनन्,” ८३ वर्षीय ज्येष्ठ नागरिक खत्रीले सुनाउनुभयो । 

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले धार्मिक पर्यटक गलेश्वरधाम प्रवेश गर्ने मार्गमा पर्ने उक्त फोहोरको डङ्गुरले गर्दा मन्दिरकै महिमालाई प्रत्यक्ष असर गर्न सक्ने बताउनुभयो । उक्त स्थानको विकल्प खोजी गरेर त्यहाँ भइरहेको फोहोर विसर्जन गर्ने काम रोकिनुपर्ने उहाँको भनाइ छ । बाहिरबाट आउने पर्यटकका लागि फोहोरको दुर्गन्धले गर्दा असर गर्ने र पवित्र धार्मिक स्थल मुक्तिनाथ जाने मार्ग पनि भएको हुनाले पनि यसको विकल्प खोजिनुपर्ने भन्दै नगरपालिकालाई क्षेत्र विकास कोषले पटक पटक ताकेता गरेको भए पनि सुनुवाइ नभएको उहाँले सुनाउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले फोहोर व्यवस्थापन गर्ने स्थलको विकल्प खोजी भएको बताउनुभयो । २०६२/०६३ ताकादेखि नै त्यही स्थानमा फोहोर फाल्ने काम भएको र २०७९ मा आफूहरू निर्वाचित भएर आएपछि पनि निरन्तरता भएको भए पनि त्यसलाई स्थान्तरण गर्नेबारेमा विकल्पको खोजी भइरहेको उहाँको तर्क छ ।