• २ कात्तिक २०८१, शुक्रबार

खोप निःशुल्क उपलब्ध गराउन आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) लाई आग्रह गर्नुभएको छ । 

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा महानिर्देशक डा. टेड्रोस गिब्रिएसससँगको कुराकानीमा यस्तो अनुरोध गर्नुभएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ । उक्त केन्द्रलाई नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउनुभयो । 

जवाफमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले जानकारी दिनुभयो । 

यसै गरी मन्त्री पौडेलले विश्वव्यापी खोप अलायन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरी विभिन्न प्रकारका खोप निःशुल्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ । उहाँले डेङ्गुलगायतका रोगको खोपका लागि आग्रह गर्नुभएको हो ।

उहाँले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्न लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गर्नुभयो । मन्त्री पौडेलले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्तामा नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताउनुभयो । जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब तीन करोड युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताउनुभयो । 

नेपालका महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिका तथा महिलाको खोप तथा पोषणमा भइरहेको सुधारका विश्वका स्वास्थ्य क्षेत्रका सरोकारवालाले प्रशंसा गरेका छन् । शिखर सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको दूरदराजका क्षेत्रमा समेत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविकाले पोषण र स्वास्थ्यका क्षेत्रमा मातृ र शिशुका लागि उदाहरणीय काम गरेको बताउनुभएको थियो ।

स्थानीय समुदायका महिलाले प्रभावकारी योगदान दिएकै कारण मातृशिशु मृत्युदर कम गर्न सकेको मन्त्री पौडेलले बताएपछि सहभागीले त्यस कार्यको प्रशंसा गरेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । सम्मेलनमा सहभागी हुने क्रममा मन्त्री पौडेलले नर्वेका स्वास्थ्यमन्त्री जाँ क्रिश्चियन भेस्ट्रे तथा युनिसेफका शीर्ष अधिकारीसँग समेत भेटवार्ता गर्दै स्वास्थ्य सुधारमा नेपालले गरिरहेको प्रयासमा ऐक्यबद्धताका लागि आग्रह गर्नुभएको थियो ।