• १ कात्तिक २०८१, बिहिबार

कुमाख पहाडको मेला (फोटो फिचर)

blog

सल्यानको धार्मिक तथा प्राकृतिकस्थल कुमाखमा लागेको मेला। तस्बिर : प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा

सल्यान, कार्तिक १ गते।  कोजाग्रत पूर्णिमा दिन मेला लाग्ने कुमाख प्राकृतिक तथा धार्मिक पर्यटकीय स्थल हो। सल्यान सदरमुकाम खलंगाबाट आठ घण्टा पैदल यात्राको दूरीमा रहेको कुमाख धार्मिक तथा प्राकृतिक पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण मानिन्छ। समुन्द्री सतहदेखि दुई हजार पाँच सय २० मिटर उचाइमा रहेको छ।

कुमाख गाउँपालिका, शिद्धकुमाख गाउँपालिको  संगम रहेको यो पहाडको चुचुरोमा शिद्ध मन्दिर रहेको छ। पहाडका विभिन्न स्थानमा रहेका दर्जनौं गुफा पर्यटनका लागि आकर्षण केन्द्र बन्न सक्छन्। कुमाखमा रहेको सिद्ध गुफा निकै रमणीय रहेको छ। गुफाको अवलोकनका साथै पूजा आरधना समेत हुने गरेको छ। धार्मिक विश्वासका साथ भक्तजनले कुमाखमा रहेको सिद्ध मन्दिरमा चतुर्दशी र कोजाग्रत पूर्णिमाको दिन पूजा आरधना गर्ने गरेको पुजारी लालबहादुर डाँगीले (जुजु)ले बताउनुभयो। 

कुमाख प्राकृतिकरुपमा निकै मनोरम रहेको छ। कुमाखको टुप्पोबाट १५ जिल्लाका भू-भाग देख्न सकिन्छ। कुमाख पहाडबाट उत्तरमा रहेका सिस्ने, धौलागिरी, चाखुरे हिमाल, डिग्रे भगवतीको मन्दिर, जन्ती बस्ने लेकलगायतका ढुङ्गे पहाड र अधिकांश गाउँ एवम् तराईका विभिन्न भू–भाग अवलोकन गर्न सकिने स्थानीय डिल्लीराज जैसीले  जानकारी दिनुभयो। 

कुमाखमा कोजाग्रत पूर्णिमाका दिन सिद्ध मन्दिरदेखि १ किलोमिटर तल जिमालीतर्फको समथर भू-भागमा मेला लाग्ने गर्दछ। मेलामा आसपासका विभिन्न गाउँको स्थानीय लोकसंस्कृति झल्कने बनगाडी, टप्पा, सोरठी, पैसेरी, दोहरी, सेरेङ्गेजस्ता नाच प्रदर्शन गर्ने गर्दछन्। 

आ–आफ्ना गाउँका पहिचान मेलामा देखाउने, जमघटन हुने पर्वका रुपमा कुमाख मेलालाई लिइने साहित्यकार डा. पूर्ण भण्डारी पंकजले  बताउनुभयो।