• १ कात्तिक २०८१, बिहिबार

ग्रामीण सडकको पहिरोले चाडपर्वमा सास्ती

blog

वालिङ नगरपालिका–९ को ग्रामीण सडकको अवस्था।

राधाकृष्ण डुम्रे 

वालिङ, कात्तिक १ गते। स्याङ्जाका ग्रामीण सडकमा खसेको पहिरोले चाडपर्वमा सास्ती खेप्नु परेको छ। दसैँको लागि बाहिरबाट आफ्नो गाउँ पुगेकाहरूले कष्टकर यात्रा गर्दै घर पुग्नुपरेको गुनासो गरेका छन्।

दुई साता अघि आएको वर्षाले स्याङ्जाका अधिकांश ग्रामीण सडक अस्तव्यस्त बनाइदिएको थियो।स्थानीय तहहरूले समयमा नै पहिरो हटाउने तथा पानीले खोलिदिएको सडकलाई सुधार गर्ने नगर्दा यात्रुहरू समस्यामा परेका हुन्।

केही स्थानीय तहहरूले सडकको मर्मत गरेको भए पनि धेरै स्थानीय तहले यसमा बेवास्ता गरेको यात्रुको गुनासो छ।वालिङ–१३ का राजकुमार गैह्रेले एक दिनमा नै सबै पहिरो हटाउन सक्ने अवस्था हुँदा पनि वडा र पालिकाले बेवास्ता गरेको गुनासो गर्नुभयो।

सिद्धार्थ राजमार्गसँग जोडिएका प्रमुख ग्रामीण सडक यात्रा गर्न लायक बनाइएको भए पनि अन्य सडकलाई बेवास्ता गरिएको वालिङ–९ का विवेक पङ्गेनीको गुनासो छ।उहाँले सामान्य पहिरो समेत नपन्छाइदिँदा गाउँ सम्मको यात्रा कष्टकर बनेको बताउनुभयो ।

ग्रामीण सडकको कतिपय ठाउँमा ठुलो पहिरो खसेकाले पैदल यात्रासमेत कठिन भएको यात्रुको भनाइ छ।दसैँ मनाउन चापाकोट–१ मा रहेको आफ्नो घरसम्म पुग्न  कठिन यात्रा गर्नुपरेको भरत बस्तीले बताउनुभयो।