• १ कात्तिक २०८१, बिहिबार

धान भित्र्याउन किसान व्यस्त

blog

प्युठान नगरपालिका –४ स्थित झिमरुक फाँटमा धान भित्र्याउँदै किसान । तस्विरः सुजल श्रेष्ठ

सुजल श्रेष्ठ

प्युठान, कात्तिक १ गते । जिल्लाका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ । जिल्लाकै सबैभन्दा ठुलो फाँट झिमरुक फाँटमा यतिवेला किसानहरु धान भित्र्याउने चटारोमा छन् । 

दसैंअघि काटेर राखिएको धान अहिले भित्र्याउन थालिएको हो । दसैंअघि पानी परेर समयमै काट्न र भित्र्याउन नपाउँदा यो वर्ष धान भित्र्याउन केही ढिला भएको किसान बताउँछन् । 

प्युठान नगरपालिका –४ विजुवारका आशिस कार्कीले दसैंअघि काटेको धान दसैं सकिएपछि भित्र्याउन थालेको बताउनुभयो । थ्रेसर मेसिनबाट धान भित्र्याउँदा छिटो र लागत समेत घटेको उहाँले बताउनुभयो । 

सिचाइँको राम्रो सुविधा भएको झिमरुक फाँटमा समयमै धान रोप्ने र समयमै उत्पादन हुने गर्दछ । अझ पछिल्लो समय मेसिन औजारको प्रयोगले खनजोतदेखि अन्य काम गर्न किसानलाई सहज भइरहेको विमला पौडेलले बताउनुभयो । ‘अहिले काम गर्न मान्छे पाउनै गाह्रो छ,’ उहाँले भन्नुभयो,‘दिनभर लाग्ने काम मेसिनले एकै घण्टामा सकिन्छ ।’

जिल्लामा धान उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले धान जोनको रुपमा काम गर्दैआएको छ । चैते धान र बर्खे धान गरी दुई बाली धान खेती गरी उत्पादन बढाउन कार्यालयले किसानलाई सहयोग गर्दैआएको छ । 

कृषि यान्त्रिकरण, उचित वीउको सिफारिस गरी उत्पादनमा किसानलाई सहयोग गर्दैआएको छ । जसलेगर्दा धान उत्पादन र उत्पादकत्वमा समेत वृद्धि हुँदैआएको परियोजनाका कार्यालय प्रमुख चुमानसिंह गिरीले बताउनुभयो ।

जिल्लाभर ६ हजार पाँचसय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । त्यसबाट वार्षिक २८ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।  उन्नत वीउ, प्रविधिको प्रयोगले किसानलाई उत्पादन लागत कम भएको गिरीले बताउनुभयो ।