• १ कात्तिक २०८१, बिहिबार

‘अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरी उत्कृष्ट’

blog

सुर्खेत समाचारदाता

सुर्खेत,कात्तिक १ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अपराध नियन्त्रण र अनुसन्धानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तरमा प्राप्त गरेको ख्याति नेपाली र नेपालको पुँजी भएको बताउनुभएको छ । नेपाल प्रहरी स्थापनाको ६९ औंँ वर्ष प्रवेश गरेको अवसरमा कर्णाली प्रदेश प्रहरीले बुधबार आयोजना गरेको कार्यव्रmममा बोल्दै उहाँले सीमित साधन र स्रोतबिच पनि राज्यले सुम्पेको जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपाल प्रहरीले देखाएको कार्यकुशलताका लागि सिङ्गो प्रहरी सङ्गठनलाई बधाईसमेत दिनुभयो  ।

उहाँले गौरवशाली इतिहास कायम गरेको नेपाल प्रहरी अनेकन बाधा, अवरोध र चुनौतीको सामना गर्दै आजको अवस्थामा आइपुगेको बताउँदै प्रहरी सङ्गठनलाई यो अवस्थामा ल्याई पु¥याउन प्रत्येक सदस्यको अथक मेहनत र परिश्रम रहेको उल्लेख गर्नुभयो । मुलुकमा देखापरेका हरेक विषम परिस्थितिलाई निस्तेज तुल्याउन नेपाल प्रहरीका प्रत्येक सदस्यहरू उच्च मनोबलका साथ खटिँदै आएको उहाँको भनाइ छ । 

नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तिगत र पारिवारिक दायित्वलाई थाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरी कर्मचारीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको नेपाल प्रहरीको भूमिका र कर्तव्यबोधले मात्र सुदृढ सुरक्षा व्यवस्थासँगै मुलुकमा कानुनी शासन र सुशासनको पूर्ण अनुभूति गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “सबै प्रकारका अवाञ्छित गतिविधि र गलत व्रिmयाकलाप नियन्त्रणले मात्र नागरिकले कानुनी शासनको प्रत्याभूत महसुस गर्न सक्दछन् । नागरिकलाई कानुनी शासनको प्रत्याभूत हुने गरी नेपाल प्रहरी सबै खालका अवाञ्छित गतिविधि र गलत व्रिmयाकलाप नियन्त्रणमा पूर्ण सक्षम छ ।” यस्तै प्रहरीको जिम्मेवारी शान्तिसुरक्षासँगै नागरिकको हृदयमा विश्वास र स्नेहको बन्धन स्थापित गर्नु पनि हो, भन्नुभयो । संविधानतः प्रदेश मातहत प्रदेश प्रहरी रहने व्यवस्था भए पनि सङ्घीय कानुनको अभावमा  प्रदेश प्रहरी प्रदेश सरकार मातहत अझै आइसकेको छैन भन्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार मातहत आइनसके पनि नेपाल प्रहरीका प्रदेशलगायतका सबै युनिटले शान्तिसुरक्षा, विपत् न्यूनीकरणलगायतका विषयमा प्रदेश सरकारसँग समन्वयात्मक ढङ्गले काम भइरहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीको संस्थागत हित र दिगो उन्नतिका लागि प्रदेश सरकार सदैव सहयोगी रहने तथा सङ्गठनले सुरु गरेका हरेक रचानात्मक योजना तथा कार्यलाई प्रदेश सरकारको साधन र स्रोतले भ्याएसम्म सहयोगी बन्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभएको छ । 

ट्राफिक कार्यालय उत्कृष्ट

यसैबिच ६९ औँ प्रहरी दिवसका अवसरमा मुलुकका सात वटै प्रदेशस्तरीय ट्राफिक कार्यालयमध्ये कर्णालीको कार्यालय उत्कृष्ट भएको छ । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन २०८१ मा अन्तरप्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमध्येबाट कर्णालीको कार्यालय उत्कृष्ट घोषित भएको हो । बुधबार प्रहरी प्रधान कार्यालयमा कर्णालीका ट्राफिक प्रहरी प्रमुख एसपी अपिलराज बोहोरालाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रशंसापत्र प्रदान गरेको कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारी हरि बिसीले जानकारी दिनुभयो ।