• १० मंसिर २०८१, सोमबार

बुटवल–नारायणगढ सडक,यात्रा अझै सास्ती

blog

छ वर्षदेखि निर्माणाधीन बुटवल–नारायणगढ सडक ।

भैरहवा समाचारदाता

भैरहवा, कात्तिक १ गते । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता थापामगरले काठमाडौँबाट बुटवल आउन १३ घण्टा लागेको बताउनुभयोे । उहाँले भन्नुभयो, “सडकमा खाल्टाखुल्टीका कारण यात्रा निकै कष्टकर रह्यो ।”  लु. १ ख ७३८३ नम्बरको बसका चालक रमेश थापामगरले छ वर्षपहिले बुटवलबाट बर्दघाट पुग्न ४५ मिनेट लाग्ने गरेकोमा अहिले दुई घण्टा लाग्ने गरेको बताउनुभयो ।

पछिल्लो छ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई यहाँ असहज भइरहेको छ । यहाँ खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नु पर्छ । २०७५ सालमा बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास भएको थियो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताका व्रmममा ठेकदार कम्पनीले तेस्रो पटक म्याद थप गरिसकेको छ । पछिल्लो म्याद अनुसार २०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने छ । असारदेखि काम रोकिएको छ ।

वर्षाको समय र रकम अभाव देखाउँदै निर्माण कम्पनीले काम रोकेको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले बताउनुभयो । यस आयोजनाको अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम भएको छ । कम्पनीले बुटवलको शिलान्यास गरेको ठाउँदेखि देवदह, सुनवल, दाउन्ने, चोरमारालगायत विभिन्न ठाउँमा भत्काउने काम गरेको थियो । यस खण्डको सडक छेउछाउमा निर्माण सामग्री राखिएकाले समेत यात्रा कठिन हुने गरेको छ । पहिले यो सडकखण्ड वरपरका होटेल व्यवसाय राम्रै फस्टाएका थिए । सडक विस्तार कार्य सुरु भएसँगै यहाँका होटल प्रभावित भएका छन् । बर्दघाटस्थित वर्षा होटलकी सञ्चालक रूपा न्यौपानेले पछिल्लो समय होटेल नचल्दा भाडा समयमा दिन अप्ठेरो परेको बताउनुभयो । बर्सौंदेखि चलेको होटेल अहिले सडकका कारणले चल्न छाडेको उहाँको भनाइ छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिका दुई हजार चार सय बसमध्ये दैनिक दुई सय बसले निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड प्रयोग गर्छन् । प्रालिका कार्यकारी निर्देशक रामचन्द्र भुसालका अनुसार यस सडकखण्डमा यात्राको समय लम्बिँदा बसमा धेरै इन्धन खर्च हुने गरेको छ । यस्तै सडकको खराबीका कारण टुटफुट हुने र टायर पन्चर हुने घटना बढेका छन् । बुटवलदेखि एक पटक काठमाडौँ, पोखरा, बागलुङ पुगेर फर्कंदा बस मर्मत गर्नुपर्ने हुन्छ । प्रत्येक पटक एउटा बसको मर्मत गर्न १० हजार रुपियाँ लाग्ने उहाँको भनाइ छ ।